तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र सञ्चालन गर्ने नास्टको तयारी

काठमाडौँ । इटाली सरकारको सहयोगमा सञ्चालित सोलुखुम्बुको खुम्बुस्थित अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला तथा अनुसन्धान केन्द्रबाट हुने अध्ययन अनुसन्धान केही वर्षदेखि बन्द रहेकोमा अब नियमित र प्रभावकारी सञ्चालनका लागि सरकारले अग्रसरता लिएको छ । 

खुम्बुस्थित लोबुचेमा रहेको अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला तथा वैज्ञानिक अनुसन्धान केन्द्र नियमित सञ्चालनको लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले अग्रसरता लिएको छ ।

हाल भने नास्टले पिरामिड ल्याब पूर्ण रुपमा सञ्चालन गर्न इटाली सरकार, खुम्बु स्थित स्थानीय सरकार र स्थानीयको सहभागी तामा  त्यहाँका समस्या समाधान गर्न सक्ने गरी अध्ययन अनुसन्धानका कार्य समेत गर्ने उद्देश्यले आवश्यक कार्य सुरु गरेको वैज्ञानिक तथा नास्टका सचिव डा. रविन्द्र ढकालले जानकारी दिनुभयो । 

हालसम्म विभिन्न मुलुकका १ सय ४३ वैज्ञानिक संस्था, २ सय २० अनुसन्धानकर्ताद्धारा ५ सय २० वैज्ञानिक अध्ययन, अनुसन्धानका कार्य यस अनुसन्धान केन्द्रबाट पुरा भइसकेका छन् तर अनुसन्धानको लागि इटाली सरकारको सीएनआर मार्फत उपलब्ध हुँदै आएको आर्थिक सहयोग उपलब्ध हुन छोडेपछि विगत केही वर्षदेखि हुन नसकेका अध्ययन अनुसन्धानका कार्य पुनः नियमित गर्न नास्टले यसका लागि आवश्यक पहल गरेको सचिव डा. ढकालले जानकारी दिनुभयो । 

हाल स्थानीयवासीको गुनासा र समस्याहरूलाई पहिचान गर्दै पर्यटन, फोहोर, तथा प्लास्टिकजन्य वस्तु व्यवस्थापनका गर्दै कार्य अघि बढाउन स्थानीय तह र नास्टबिच सहकार्य र समन्वय गर्ने सहमति भएको छ ।

खुम्बु, लोवुचे, नाम्चे लगायत विभिन्न स्थानमा राखिएका प्रयोगशालाहरू क्लाइमेट अभर्जभेटरी स्टेशन अन्तर्गत प्रदूषण, ब्ल्याक कार्बन, हिउँ पग्लने क्रम, मेट्रोलोजिक स्टेशनहरु मार्फत हावाको बहाव, तापक्रम, वर्षा र पृथ्वी सम्बन्धी भूकम्प मापन र विश्व भरका अनुसन्धानकर्ताद्धारा अध्ययन अनुसन्धानका काम गर्ने गरेको बताउनुहुन्छ पिरामिड प्रयोगशालामा कार्यरत प्रबन्धक काजी विष्ट ।

उच्च भेगको भौगोलिक तथा वातावरणीय अध्ययन अनुसन्धान मार्फत विश्व समुदायलाई फाइदा पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अनुसन्धान केन्द्रलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारले देखाएको अग्रसरता विज्ञान र अनुसन्धान क्षेत्रको लागि सराहनीय कदम हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button