सरकारका लगानी समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कट्टेल
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्रको मोडल तयार गर्दै छ । यसले उत्पादनमा आत्मनिर्भर बनाउँछ ।” प्रदेशले ५० पालिकालाई पकेट क्षेत्रका रुपमा विकास गरी अघि बढ्ने गरी कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । यसका लागि सरकार, सहकारी र लगानीकर्ता मिलेर हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । राज्य र किसानले मात्रै गरेर नहुने भन्दै उहाँले अब लगानीकर्ता समेत कृषि क्षेत्रमा आउनुपर्ने बताउनुभयो ।
दुग्ध उत्पादक सहकारीहरूले स्थानीय बजारको खोजी गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमन पौडेलले दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । दुग्ध उत्पादक किसानको पैसा नपाएको गुनासो चाँडै समाधान हुने गरी काम भइरहेको उहाँको भनाइ थियो ।
सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादव, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झा लगायत पछिल्लो समय दुग्ध उत्पादक किसानले पाएको समस्या समाधानका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन पेस गरी छलफल गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्