तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा रङ्गशाला निर्माणले गति लिँदै

जुम्ला।जुम्लाको चन्दननाथ नगरपालिका–५ स्थित राजासिमा निर्माणाधीन रङ्गशालाको कामलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले तीव्र गतिमा अगाडि बढाएको छ ।

आयोजनाअन्तर्गत नगरपालिकाभित्रका एकीकृत सहरी पूर्वाधार विकास कार्यका भौतिक संरचनाको कामलाई अगाडि बढेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० देखि काम अघि बढेको हो । आयोजना प्रमुख सिंहका अनुसार उक्त काम २०८१ कात्तिकभित्र सक्नुपर्ने सम्झौता छ । नगरभित्रका विभिन्न भौतिक संरचनासहित रङ्गशाला निर्माणका लागि कूल रु ४० करोड ६२ लाखमा कविन्द्र निर्माण सेवा कम्पनी प्रालि काठमाडाँैसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रङ्गशाला नहुँदा खेलाडीलाई खेल खेल्न र अभ्यास गर्न सकस हुने गरेको छ । अबको दुई वर्षभित्र रङ्गशाला निर्माण भएपछि जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न सहज हुने निर्माण आयोजना कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो । कर्णाली प्रदेशकै नमूना रङ्गशाला हुने सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button