तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिममा जाऊँ है पोखरा अभियान 

नेपालगञ्ज । करिब एक बर्ष अघि देखि सुरु भएको नेपालगञ्ज पोखराको सिधा हवाई उडानलाई दैनिक उडान गर्न व्यवसायीहरूले माग गर्नु भएको छ । होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा पश्चिम तर्फ सुरु गरिएको जाऊँ है पोखरा अभियान अन्तर्गत आइतबार पोखरा र नेपालगञ्जका पर्यटन व्यवसायी बिच भएको छलफलमा सहभागीहरूले दुवै क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न नेपालगञ्ज पोखराको सिधा हवाई उडानलाई दैनिक उडान गर्न माग गर्नु भएको हो । 

सो क्षेत्रमा हाल हप्तामा तीन वटा मात्र हवाई उडान हुँदै आएको अवस्थामा अब यसलाई दैनिक उडान गर्न सके सिमावर्ती क्षेत्रमा आएका भारतीय पर्यटकलाई पोखरा र पोखरामा आएका पर्यटकलाई नेपालगन्जमा पठाउन सकिने व्यवसायीहरूले बताउनु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज लगायत नेपालगञ्ज वरपरका पर्यटकीय स्थलको बारेमा पोखरामा पनि जानकारी दिने व्यवस्था मिलाउनुपर्नेमा नेपालगञ्जका पर्यटन व्यवसायीले माग गर्नु भएको छ । 

नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले रुपैडिया नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकले झण्झट बेहोर्नु परेको गुनासो गर्नु भएको थियो । पर्यटकका लागि झण्झट रहित यात्रा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले सीमा क्षेत्रमा एक ठाउँमा चेकजाँच भइसकेपछि अन्य धेरै ठाउँमा फरक निकायले चेकजाँचकै नाममा दुःख दिन नहुने उहाँले बताउनु भयो । 

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटकमैत्री वातावरण सीमावर्ती क्षेत्रमा दिनसके त्यसको सकारात्मक सन्देश सिङ्गो भारत र अन्य देशमा पनि पुग्ने दाबी गर्नु भयो । नेपालगञ्ज र पोखरा बीचको उडान थप्नुपर्नेमा उहाँले माग गर्नु भयो । 

पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन बोर्ड व्यवसायीसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि निरन्तर काम गर्दै आएको बताउनु भयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सीमावर्ती क्षेत्रमा सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन सहज हुने आफूहरूले अपेक्षा गरेको उहाँको भनाई थियो । 

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्ले पोखराका पर्यटन व्यवसायीबाट अन्य स्थानका व्यवसायीले समेत धेरै कुरा सिक्नुपर्नेमा जोड दिनु भयो । अब छिट्टै जाऊँ है नेपालगञ्ज अभियान लिएर पोखरा लगायतका विभिन्न सहर पुग्नुपर्ने उहाँको भनाई थियो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारतीय पर्यटकका लागि गण्डकी प्रदेशमा सहज वातावरण बनाउन आफूहरूले पहल गर्दै आएको बताउनु भयो । नेपालगञ्जबाट दैनिकरुपमा पोखरा र पोखराबाट नेपालगञ्ज उडान अनिवार्य रहेकोमा जोड  दिँदै स्तरीय बस सेवा समेत आवश्यक भएको उहाँले जोड दिनु भयो । पोखरामा बाघ हेर्न चाहने पर्यटकका लागि बर्दिया पठाउने गरेको उहाँको भनाई थियो । 

नेपालगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले पोखरा सहर आफैमा प्राकृतिक श्रोत साधनले धनी भएकोले नेपालगञ्ज आइसकेपछि नेपालगञ्ज रोजाइमा पार्ने गरी कार्यक्रम गर्न आग्रह गर्नु भयो । सीमामा कडाइ गर्ने तर अन्यत्र दुःख दिन नहुनेमा उनको भनाई थियो । 

होटल सघं पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटल संघ पोखराले चलाएको जाऊँ है पोखरा र चलिए पोखरा लगायतका कार्यक्रमका साथै अन्य पर्यटकीय संघ संस्थाहरूले चलाएका अभियानले पोखरा क्षेत्रको आन्तरिक पर्यटनमा वृद्धि भएको दाबी गर्नु भयो । 

अभियानमा अन्तर्गत पुग्ने स्थानमा नेपालगञ्जमा जस्तै अन्य क्षेत्रमा पनि पत्रकार सम्मेलनका साथै सरोकारवाला पक्षसँग अन्तरक्रिया गरिने संघका सचिव पार्वती पाण्डेले बताउनु भयो । शुक्रबार देखि सुरु भएको उक्त अभियान अन्तर्गत विभिन्न कार्यक्रम सहित भैरहवा, नेपालगन्ज, धनगढी हुदैं टोलीले महेन्द्रनगरसम्म पुगेर विभिन्न कार्यक्रम गर्दै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button