उत्पादनमा जोडिँदै स्थानीय सरकार

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १ सय ४५ रोपनी बाँझो जग्गा खनजोत गरी प्याज खेतीको सुरुवात गरेको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले बढ्दो बसाइसराइ रोकथामका लागि चालु आर्थिक वर्षमा नगरपालिकाभित्र रहेका बाँझो जग्गाको खोजी गरि बेरोजगार नागरिकहरूलाई रोजगारी दिने कार्यक्रम अघि बढाएको छ । बाँझो रहेका जग्गाधनीहरूसँग सम्झौता गरी पहिलो चरणमा प्याज खेतीको सुरुवात गरेको हो । यस बर्ष करिब ७० केजी बिउको बेर्ना तयार भइरहेको छभने बिरुवा लगाउन जमिनको तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्मशील जनशक्ति परिचालनमार्फत उत्पादित वस्तुको बजारीकरण गर्ने, बेचबिखन गर्ने, बिक्रीबाट प्राप्त आयलाई नगरपालिकाको आन्तरिक खातामा जम्मा गरी सूचीकृत बेरोजगारहरू परिचालन गर्ने र सो बापत उनीहरुलाई पारिश्रमिक दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो । नगर भित्र रहेको १ सय ४५ रोपनी बाँझो जमिन बाट कार्यको थालनी गरिएको भएपनी यसलाई निरन्तर बढाउँदै लगिने प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी गराउनुभयो ।

सूचीकृत विपन्न बेरोजगार जनशक्ति मध्ये १ सय जनालाई कर्मशील जनशक्तिमा परिचालन गरिएको छ । १० वटा वडा रहेको नगरपालिकाले पहिलो चरणमा १ सय ४५ रोपनी जग्गा लिजमा लिएको छ । जसमा प्याज खेती सुरु गरिएको छ । वडा नम्बर ९ ढिकुराको डेभा, वडा नम्बर ५ असुरकोट दुर्वाङ्ग, वडा नम्बर २ ढाकावाङ्ग खाकाबेसी र वडा नम्बर ७ को डुम्रिचौरमा यो अभियानको सुरुवात गरिएको नगरप्रमुख झविलाल थापाले बताउनु भयो । यस सिजनमा उत्पादित प्याजले जिल्लाभरकै मागलाई पूर्ति गर्नेमा आफु विश्वस्त रहेको नगरप्रमुख थापाको भनाइ रहेको छ ।
दिन प्रतिदिन बढ्दो बसाइसराइ र बेरोजगारीको सङ्ख्या बढ्दो क्रममा रहेकोमा जिल्लाका ६ वटा पालिका मध्ये भुमिकास्थान नगरपालिकाले सञ्चालन गरेको बाँझो जमिनको सदुपयोग यस कार्यक्रमले निरन्तरता पाएमा कार्यक्रम प्रभावकारी हुने देखिन्छ ।







प्रतिक्रिया राख्नुहोस्