विवाह पञ्चमी महोत्सव अन्तर्गत मटकोर विधि सम्पन्न
जनकपुरधाम । जनकपुरधाममा जारी रहेको सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि सम्पन्न भएको छ ।

जानकी मन्दिरबाट बाजागाजा र नेपाली सेनाको ब्यान्डसहित सीताको मानव स्वरूपलाई रथमा राखेर जनकपुरधामको धार्मिक महत्वका गंगासागरमा ल्याई माटो खन्ने विधिलाई मटकोर विधि भनिन्छ । माता सीताको स्वरूपमा रहेको मानव स्वरूपले माटो खनेर जानकी मन्दिरमा लग्ने चलन रहेको छ ।

हजारौँ नरनारीसहित नाचगान गर्दै गंगासागरमा मटकोर विधि सम्पन्न भएको थियो । मटकोरको क्रममा खनिएको माटो माता सीताको लागि तयार पारिने विवाह मण्डपमा प्रयोग गर्ने चलन रहेको छ ।

मटकोर विधिपछि गंगासागरमा हुँदै आएको महागङ्गा आरती दिउँसै सम्पन्न भएको छ । महागङ्गा आरती सेभ हिस्टोरिकलले गर्दै आएको छ । कार्यक्रममा सहभागी तीर्थयात्रीहरूलाई सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष एवं प्रदेश सभाका सदस्य रामअशिष यादवले स्वागत गर्नुभएको थियो ।

सप्ताहव्यापी श्रीसीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत भोलि दिउँसो स्वयंम्बर तथा साँझ शुभ विवाहको कार्यक्रम रहेको छ । विवाह पञ्चमी अन्तर्गत सोमबार रामकलेवा रहेको छ । रामकलेवापछि औपचारिक रुपमा विवाह पञ्चमीको समापन हुनेछ ।
मङ्सिर २६ गते नगर दर्शनसँगै श्रीसीताराम विवाह पञ्चमी महोत्सव शुरु भएको हो ।






प्रतिक्रिया राख्नुहोस्