तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासीमा मानवअधिकार उलङ्घनका घटनामा वृद्धि : ईन्सेक

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढ्दै गएको सरोकारवालाहरूको अध्ययन तथ्याङ्कले पुष्टि गरेको छ । अनौपचारिक सेवा केन्द्र( इन्सेक)ले बिहीबार एक वर्ष अवधिको मानवअधिकार घटनाको अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै मानवअधिकार उल्लङ्घनका घटना वृद्धि हुँर्दै गएको जानकारी गराएको हो ।

जिल्लामा मूलतः घरेलु हिंसाका घटना अधिक मात्रामा बढिरहेको ईन्सेकका जिल्ला प्रतिनिधि नारायण पराजुलीले बताउनुभयो । सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको घटना हेर्दा जिल्लामा करिब १२१ वटा घरेलु हिंसाका मात्रै घटना भएको उहाँले बताउनुभयो । मदिराजन्य बस्तुको अत्यधिक प्रयोग,खुल्ला विक्री वितरण, गरिबी, अशिक्षा, रुढिवादी परम्परा लगायतका कारण घरेलु हिंसालाई थप प्रश्रय दिएको ईन्सेकले जनाएको छ।

त्यसैगरी जिल्लामा बालअधिकार हनन् का २१ वटा,बलात्कार ११ वटा,परिवारबाट हत्या ५ वटासहित जातीय विभेद,कुटपिट लगायतका झण्डै डेढ सय मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना विगत एक वर्षमा भएको तथ्याङ्क रहेको ईन्सेक प्रतिनिधि पराजुलीले बताउनुभयो । कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले पनि जिल्लामा मानवअधिकार हनन तथा ज्यादतीका घटना वृद्धि हुँदै जानु राम्रो नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले मानवअधिकार संवेदनशील भएकाले यसको न्यूनीकरणका लागि सबै पक्ष लाग्नु पर्ने बताउँदै आफ्ना अधिकार लिँदा अरूको हनन हुने वातावरण सृजना हुन दिन नहुने बताउनु भयो । उहाँले जिल्लामा बाहिर नआएका अझै धेरै घटनाहरू हुन सक्ने बताउँदै मानवअधिकार पुस्तकमा सकेसम्म छुटेका घटनालाई पनि समावेश गर्नुपर्ने तथा स्थानीय तहसँग समन्वय गरेर घटना सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।स्थानीय तहका न्यायिक समितिका संयोजकहरूलाई सहयोगको लागि आफूले समन्वय गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

जिल्ला अदालतका श्रेस्तेदार जानकी रमण यादवले केही घटनाहरू छुटेको भन्दै छुटेका घटनाहरूलाई समावेश गर्नुपर्ने बताउनुभयो ।खुला सिमाका कारण पनि विभिन्न खाले अपराधका घटना बढ्ने गरेको सहभागीहरूले बताएका थिए।कार्यक्रममा नेपाली विभिन्न पार्टीका नेता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button