रुपन्देहीमा ४० करोडको लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ४० करोडको लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ स्थित दरखसवामा एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा झन्डै साढे ५ बिघा जग्गामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला फागुन १ गतेबाट मैदान खेल्नका लागि योग्य हुने एक्स्ट्राटेकका ओभल प्रालिका निर्देशक विनोद कुँवरले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
क्रिकेट रङ्गशाला होस्टल सहितको एकेडेमी, प्रशिक्षण केन्द्र हुने जसमा रङ्गशाला कम्पाउण्डमा चार तलाको भवन बनाई एक सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने र जसको लागि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले तिलोत्तमामा बन्न थालेको (निजी लगानी) रङ्गशालाले समग्र क्रिकेट क्षेत्रको विकास हुने बताउनुभयो । प्रदेशबाट हुने खेलकुदका गतिविधि यही क्षेत्रबाट सुरुवात गर्ने भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल क्रिकेट सङ्घ(क्यान) का पूर्व कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले निजी लगानीमा तिलोत्तमामा बन्न थालेको क्रिकेट रङ्गशालाको काम द्रुत गतिमा हुनु सरकारलाई उदाहरण समेत भएको बताउनुभयो ।
रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरि बहादुर थापाले निजी क्षेत्रमा ठुलो लगानीमा बन्न थालेको क्रिकेट रङ्गशालाका लागि साथ र सहयोग रहेको बताउनुभयो ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्राण्ड एम्बासडर हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्