तपाईँ सुन्दै हुनुहुन्छः

बालाचतुर्दशी पर्वमा गलेश्वरमा ६ लाख भेटी सङ्कलन

म्याग्दी । बालाचतुर्दशी पर्वको अवसरमा बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा ६ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ । सोमबार गलेश्वरमा पूजाआजा  र सतविज छर्न आएका भक्तजनहरूले चढाएको भेटी मङ्गलवार सार्वजनिक गर्दा ६ लाख दुई हजार २३२ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष गौमाया पुनले जानकारी दिनुभयो । 

गलेश्वरमा लाग्ने मेला पर्वको अवसरमा एकै दिनमा सङ्कलन भएको भेटीमध्ये यसपालिको बाला चतुर्दशीमा सङ्कलन भएको रकम अहिलेसम्मकै धेरै रहेको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरमा सतबीज छर्न म्याग्दीको विभिन्न गाउँका साथै पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन र नवलपरासी लगायतका स्थानबाट ५० हजार भन्दा बढी भक्तजनहरू आउनुभएको अध्यक्ष रेग्मीले बताउनुभयो । 

कालिगण्डकी नदीको किनारमा नौ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मन्दिरमा लाग्ने ठुलो पर्व बालाचुर्दशी पर्व हो । बालाचतुर्दशी पर्वमा पितृ उद्धारका लागि गलेश्वरमा आएका भक्तजनहरूले कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो, केरा, उखु, सुन्तला, भोगटे, कागती लगायतका सात भन्दा माथि प्रकारका बीउ छर्ने गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button