तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशलाई खेलकुदको हब बनाइन्छ : खेलकुद मन्त्री साह

जनकपुरधाम । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले शिक्षालाई खेलकुदसँग जोडेर प्रदेशलाई खेलकुदको हब बनाइने बताउनुभएको छ ।

एन प्याब्सन धनुषाको आयोजनामा जनकपुरधाममा शुरु भएको अन्तर विद्यालय रनिङ्ग शिल्ड टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले विद्यालयहरूमा पठनपाठनसँगै खेलकुदको विकास भएको खण्डमा विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

प्रदेश सरकारले खेलकुद सम्बन्धी विधेयक चाँडै ल्याएर खेलकुद विकास समितिको निर्माण गरी त्यस मार्फत सम्पूर्ण खेलहरूको व्यवस्थित विकासको काम गरिने मन्त्री शाहको भनाइ थियो ।

नेकपा एमालेका प्रदेश सभाका सदस्य एवं नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले खेलकुदको व्यवस्थित विकासका लागि सरकारको ध्यानाकर्षण गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रमा भएका सबै खेलकुद मैदानको संरक्षण तथा विकासमा काम गरिरहेको बताउँदै रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण अघि बढिसकेको बताउनुभयो ।

एन प्याब्सन धनुषाका अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

प्रतियोगितामा १२ विद्यालयका कक्षा १० सम्मका १२ वटा क्रिकेट टिम सहभागी छन् । नकआउटको आधारमा खेलाइने प्रतियोगिता अगामी पुस ७ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button