तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य उपचारबाट कुनैपनि नागरिक वञ्चित हुनु हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको जीवनसँग जोडिएको स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूले  स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्ने बताउनु भएको छ । 

स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री कार्कीले  पहिलो पटक आज स्वास्थ्य मन्त्रालयका कर्मचारीसँगको छलफलमा उहाँले खर्चको अभावमा स्वास्थ्य उपचार वाट कुनैपनि नागरिक  वञ्चित हुन नहुने बताउनुभयो । ‘रकमको अभावमा नागरिकको उपचार विहीन अवस्थामा मृत्यु हुन नदिने उद्देश्यले कार्य गर्नुपर्ने ’उहाँको भनाई थियो ।

जनताको स्वास्थ्य प्रती खेलबाड गर्ने कुरा आफूलाई स्वीकार्य नहुने भन्नुहुँदै उहाँले मानव जीवनसँग जोडिएको यो मन्त्रालयका कर्मचारीहरूले अप्ठ्यारो अवस्थामा पनि प्रशंसा पाउने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री कार्कीले  आगामी एक महिनाभित्र शैलजा आचार्य हृदय रोग उपचार केन्द्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभयो ।  मुख्यमन्त्री कार्कीले सरकार गठनको एक सय दिन पुगेको अवसरमा विराटनगर–१० मा अस्पताल उद्घाटनमा आउने गरि सो अस्पतालको सेवा सञ्चालनमा ल्याउन  आजदेखि काममा लाग्नु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नु भयो ‘मन्त्रालयमा नयाँ अनुसन्धान आवश्यक रहेको छ भन्दै जनताप्रति उत्तरदायी भएर दुर्गम एवं ग्रामीण क्षेत्रका जनताको सेवा प्रभावमा कुनै कमी हुनुहुँदैन’ ।  मुख्यमन्त्री कार्कीले आगामी १५ दिनभित्र विशेषज्ञ सहित उपचार सेवा  ओखलढुङ्गा र अन्य एक अस्पतालमा सञ्चालनको लागि आवश्यक व्यवस्था गर्न समेत  निर्देशन दिनु भयो ।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा समन्वयको अभाव रहेकोले त्यसलाई सहज बनाउन मुख्यमन्त्री कार्कीलाई आग्रह गर्नुभयो । मन्त्रालयका निकायहरूमा समन्वयको खाँचो रहेको उहाँको भनाई थियो । 

सो अवसरमा मन्त्रालय अन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला लगायतका कार्यालयका प्रमुख एवं प्रतिनिधि कर्मचारीहरूले आफ्नो मातहतका कार्यालयहरूले प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button