तपाईँ सुन्दै हुनुहुन्छः

‘जनतालाई खुशी पार्ने गरी विकास निर्माणका योजना बनाउनुपर्छ’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अरूलाई खुशी पार्ने भन्दा पनि जनतालाई खुशी पार्ने गरी विकास निर्माणका योजना बनाउनुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आयोजित प्रदेश स्तरीय आयोजना बैङ्क व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण तथा तालिममा उहाँले विकास निर्माणका योजना बनाउँदा कसेको दबाब र प्रभावमा पर्न नहुने बताउनुभयो ।

विकास निर्माण लगायत विभिन्न प्रकारका योजना व्यवस्थित गर्न प्रदेश सरकारले प्रदेश योजना बैङ्क सञ्चालनमा ल्याएको बताउँदै यसलाई सफल बनाउन राजनीतिक दल तथा कर्मचारीको भूमिका महत्त्वपूर्ण रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा विकास मन्त्री कमल प्रसाद जवेगुले योजना सञ्चालनका लागि प्रदेश आयोजना बैङ्क प्रभावकारी हुने बताउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष पुरणचन्द आचार्यले आयोजनाको छनौट र त्यसका प्रभावकारी कार्यान्वयन तथा पारदर्शिताका लागि प्रदेश आयोजना बैङ्क कार्यान्वयनमा आएको बताउनुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारी तथा राष्ट्रिय योजना आयोगका आयोजना बैंकका आइटी विज्ञ डा। गणेश गौतमले आयोजना बैङ्कको महत्वबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button