तपाईँ सुन्दै हुनुहुन्छः

मानव अधिकारलाई प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा मानव अधिकारको अवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल पक्ष राष्ट्र रहेका मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू तथा नेपाल सरकारले निर्माण गरेका कानुनहरू कार्यान्वयनका लागि तीनै तहका सरकार एवं अन्य सरोकारवाला निकायहरू बीच समन्वय हुनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले नेपाल पक्ष राष्ट्र भएका सबै अन्तर्राष्ट्रिय महासन्धिहरूले व्यवस्था गरेका मानवअधिकार सम्बन्धी विषयलाई नेपालको संविधानमा मौलिक हकका रुपमा प्रत्याभूत गरिएको उल्लेख गर्नुहुँदै त्यसको सफल कार्यान्वयनका लागि क्रियाशील रहनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले खुल्ला बजार नीतिले बढाएको अस्वस्थ प्रतिस्पर्धा, सूचना प्रविधिको असमान विकास र वितरण जस्ता कारणले विपन्न वर्ग तथा सिमान्तकृत समुदायको आधारभूत मानवअधिकार संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको प्रति गम्भीर बन्न समेत सबैमा आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले नेपाल पक्ष राष्ट्र भएका महासन्धीहरुको कार्यान्वयन गर्दै मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्न सरकारले चरणबद्ध रुपमा काम गरिरहेको र हाल मानवअधिकार सम्बन्धी पाँचौँ कार्ययोजना कार्यान्वयनको क्रममा रहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button