अछामको कमलबजारमा नेपाल विद्युत् प्राधिकरणको ३३/११ केभी सबस्टेसन सञ्चालन

अछाम । अछामको कमलबजार नगरपालिकामा निर्माण भएको विद्युतको सबस्टेसन सञ्चालनमा आएको छ । जिल्लाको पूर्वी क्षेत्र कमलबजारमा विद्युत् प्राधिकरणले ३३/११ केभी सबस्टेसन सञ्चालनमा ल्याएपछि कमलबजार सहित अछामका चार स्थानीय तह सहज पहुँचमा पुगेका छन् ।
यसअघि सोही क्षमता बराबरको सबस्टेसन साँफेबगरमा मात्रै थियो । अछामका १० स्थानीय तहका सबै ठाउँमा साँफेबगरबाट बिजुली आपूर्ति हुँदै आएकोमा अब पूर्वी क्षेत्रका कमलबजार, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद, ढकारी गाउँपालिका र मङ्गलसेन नगरपालिकाको केही क्षेत्रमा कमलबजारबाट विद्युत् आपूर्ति हुनेछ । यसका साथै कर्णाली प्रदेशको दैलेख र कालिकोटमा पनि कमलबजारबाट बिजुली लैजान सकिनेछ ।
भौगोलिक हिसाबले र सुदूरपश्चिमको पहाडी जिल्लामा यसअघि विद्युत् आपूर्ति सहज हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रमुख जङ्गबहादुर चन्दले बताउनु भयो । अछाम जिल्लालाई पूर्ण विद्युतीकरण जिल्ला बनाउने योजनाअनुसार गुणस्तरीय विद्युत् आपूर्तिका लागि कमलबजारमा सबस्टेसन राखेको उहाँले बताउनु भयो ।
चालु आर्थिक वर्षमा संघीय सरकाले अछामलाई पूर्ण विद्युतीकरण जिल्ला बनाउनका लागि १ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको चन्दले बताउनु भयो । उहाँका अनुसार ठेक्का पनि भइसकेको छ भने अब निर्माण कम्पनीसँग सम्झौताको काम मात्रै बाँकी रहेको छ ।
पञ्चदेवल विनायक नगरपालिकाका ५ वडा, ढकारी गाउँपालिकाका ५ वडा,र तुर्माखाँद गाउँपालिकाका ५ वडा गरी १५ वडा अहिलेसम्म विद्युत्तको पहुँचमा पुग्न नसकेकोमा अब सहज हुने उहाँले बताउनु भयो ।
अछामको दुर्गम मानिएका यी वडामा कतै पोल गाडिएका छन् भने कतै विद्युत् जडानको प्रक्रिया नै अगाडि नबढेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्