एनसेलको सेयर बिक्रीबारे जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाउन माग
काठमाडौँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यहरुले एनसेलको सेयर बिक्रीका सम्बन्धमा सरकारसँग यथार्थ जानकारी माग गर्नुपर्ने बताउनुभएको छ ।
समितिको आजको बैठकमा सदस्यहरुले एनसेलको शेयर किनबेचका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग यथार्थ जानकारी लिन समितिमा बोलाउन माग गर्नुभएको हो ।
बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ भएको आशङ्का रहेको बताउँदै सरकारले गठन गरेको समितिको छानबिनलाई समितिले नजिकबाट नियाल्नुपर्ने बताउनुभयो ।
सांसद प्रकाश अधिकारीले विदेशी लगानीको कम्पनीले नेपालको ऐन कानुन पालना गर्नुपर्नेमा जोड दिँदै एनसेलको खरिद बिक्रीका विषयमा सरकारको जवाफ माग गर्नुपर्ने बताउनुभयो ।
सांसद उपेन्द्र यादवले सुशासन कायम गर्न समितिले सरकारलाई स्पष्ट निर्देशन दिनुपर्ने बताउँदै एनसेलको सेयर खरिद बिक्रीका विषयमा सरकारले पत्तै नपाएको भन्ने कुरा के हो जानकारी लिनुपर्ने बताउनुभयो ।
सांसद राजेन्द्र पाण्डेले एनसेलको शेयर बिक्री नभई बिक्रीको सरकारको स्वामित्वमा आउने लागेका बेला चलखेल भएको दाबी गर्नुभयो ।
सांसदहरुले समिति आफ्नै पनि काम कारवाही समेत प्रभावकारी नभएको भन्दै समितिमा आएर थन्किएका ४ वटा विधेयकलाई टुङ्गोमा पुर्याउन सभापतिको ध्यानाकर्षण समेत गराउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्