कोहलपुर क्रिकेट रङ्गशाला अनुगमन गर्दै खेलकुद मन्त्री लिम्बु

बाँके । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले कोहलपुर महिला क्रिकेट रङ्गशालाको अनुगमन गर्नुभएको छ। बुधबार कोहलपुर ११ मा बन्न लागेको कोहलपुर महिला क्रिकेट रङ्गशाला र प्रस्तावित राष्ट्रिय महिला क्रिकेट एकेडेमीको अनुगमन गर्नुभएको हो ।
अनुगमन गर्दै मन्त्री लिम्बुले समयमा नै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई निर्देशन दिँदै कोहलपुर क्रिकेट रङ्गशालालाई महिला क्रिकेट एकेडेमी बनाउन मन्त्री लिम्बुले सुझाव दिनुभएको छ ।
यस्तै मन्त्री लिम्बुले नेपालगन्जमा निर्माण हुँदै गरेको सेन्थेटिक ट्रयाकको पनि निरीक्षण समेत गर्नुभएको छ । एघार करोड ६६ लाख बजेटबाट निर्माण हुँदै गरेको ट्याकमा हाल बेसको काम भइरहेको इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो ।
दशौँ राष्ट्रिय खेलकुदको तयारी बैठकमा सुर्खेत जाने क्रममा क्रिकेट रङ्गशालाको अवलोकन गर्नुहुँदै मन्त्री लिम्बु र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले स्थानीय तहसँगको सहकार्यमा रङ्गशालाको संरक्षण गर्नु पर्नेमा जोड दिनुभएको हो ।
पाँच विगाह क्षेत्रफलमा फैलिएको क्रिकेट रङ्गशालामा एकातर्फ रापिट निर्माणको कार्य भइरहेको छ । करिब दुई करोड ११ लाख बजेटमा निमार्ण हुँदै गरेको प्याराफीट २०८१ जेठ भित्र सम्पन्न हुनु पर्ने सम्झौता रहेको छ । क्रिकेट रङ्गशालाको विषयमा परिषद्का बोर्ड सदस्य तथा क्रिकेटका पूर्व कप्तान लेखबहादुर क्षेत्रीले जानकारी गराउनुभएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका इन्जिनियर चिरिञ्जीवी लम्सालले पहिलो चरणमा प्याराफिट ब्लक बन्ने छ जहाँ १२ सय बढी दर्शक बसेर हेर्न मिल्ने गरी बनाउन लागेको बताउनुभयो । अहिले कंक्रिटको काम मात्र सम्पन्न हुने संरचना २ करोड ९८ लाखमा सम्झौता भई काम सुरु भएको इन्जिनियर लम्सालले बताउनुभयो ।
यस्तै अनुगमनमा प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी , कोहलपुर नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष लगायत स्थानीयहरूको समेत उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्