तपाईँ सुन्दै हुनुहुन्छः

गोली लागेर प्वालैप्वाल बनेको पोल म्याग्दी फिर्ता

म्याग्दी । २०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा माओवादी पक्ष र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर प्वालैप्वाल परेको बिजुलीको पोल १७ वर्षपछि म्याग्दी नै फिर्ता भएको छ। उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६३ सालमा पाटनढोकामा रहेको यलमाया केन्द्रमा लगेर राखेको थियो । भिडन्त भएको तीन वर्षपछि यो पोल काठमाडौँ लगेका थिए । 

शान्ति प्रक्रिया सुरु भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन स्थानीयले माग गरिरहेका थिए। मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाउन लागिएको बताउनुभयो। ‘गोली लागेर छिया छिया भएको बिजुली पोल सुरक्षित रूपमा राख्ने गरी बेनी पठाउन लागेको हो,’ उहाँले भन्नुभयो । 

उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गरेका छन्। जिल्ला समन्वय समिति म्याग्दीले सशस्त्र द्वन्दको सम्झनासँगै शान्तिको कामना गर्ने र बेनी आक्रमणको चिनोसँगै सचेतना जगाउने उद्देश्यसहित पत्रमार्फत पोल फिर्ताको चिठी पठाएका थिए । 

यसलाई फिर्ता गर्न म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर आग्रह गर्दै आएका थिए। बेनी नगरपालिकाका मेयर सुरत केसीले गोली लागेर छिया छिया भएको पोल शुक्रबार बिहानसम्म बेनी आउने जानकारी दिनुभयो । उहाँले लामो समयपछि  म्याग्दी फिर्ता पोललाई शान्ति पार्कमा राखेर आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताउनुभयो । 

बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त हुँदा बिजुलीको पोलमा गोली लागेर छिया छिया परेको थियो। भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधारणको मृत्यु भएको थियो। सरकारी संरचनामा क्षति पुगेको थियो । द्वन्दकालको चिनो बेनी फिर्ता हुनुभएपछि म्याग्दीवासी खुशी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button