तपाईँ सुन्दै हुनुहुन्छः

काँडेभ्याकुर हेर्न उपरदाङगढीमा पर्यटक

भरतपुर । नेपालमा आठ सय ९४ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नेपालमा मात्र पाइने चरा हो, काँडेभ्याकुर । यही चरा हेर्न चितवनको पर्यटकीय क्षेत्र तथा पुरानो सदरमुकाम उपरदाङगढी र अग्लो डाँडा सिराइचुलीमा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् ।

काँडेभ्याकुर चरा सबैभन्दा धेरै पाइने क्षेत्र यही हो । अङ्ग्रेजीमा स्पाइनी ब्याब्लर भनिने यस चरा हेर्न विश्वका विभिन्न देशबाट पंक्षीप्रेमी पर्यटक नेपालमा आउने गर्छन् ।

बेलायतबाट चरा हेर्न उपरदाङगढी आउनुभएका माइक होइटले काँडेभ्याकुर हेर्न पाएर आफू उत्साहित भएको बताउनुभयो । वातावरणका क्षेत्रमा काम गर्दै आउनुभएका होइटले भन्नुभयो, “नेपालमा मात्रै पाइने चरा यस क्षेत्रमा प्रशस्तै देख्न पाइयो, अन्य चराको अवस्था पनि राम्रो छ ।” उहाँले आफू चरा हेर्नकै लागि नेपाल आएको बताउनुभयो ।

उहाँले चरा संरक्षणमा समुदायको प्रमुख दायित्व हुने बताउनुभयो । वर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले चितवनको उपरदाङगडी काँडे भ्याकुरको बासस्थानको ‘हटस्पट’ भएको बताउनुभयो । “उपरपरदाङगढी प्रकृति प्रेमीका लागि उत्तम स्थल मानिन्छ”, उहाँले भन्नुभयो, “यहाँ आउँदा काँडेभ्याकुर नदेखी फर्कनुपर्दैन ।”

गिरीले आफू २० वर्षदेखि काँडेभ्याकुर हेर्न र पर्यटकलाई देखाउन यहाँ आउने गरेको बताउनुभयो । यहाँ पहाडी क्षेत्रमा पाइने जनावरको पनि अवलोकन गर्न पाइने उहाँको भनाइ छ । उहाँले उपरदाङगढी क्षेत्रलाई ‘वर्ड सेन्चुरी’को रुपमा घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय जैविक विविधतामा समस्या आउन थालेको भन्दै संरक्षणमा सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । उहाँले चराको बासस्थान मासिँदै गएकाले चरा संरक्षणका विषयमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने आवश्यक औँल्याउनुभयो ।

खैरो जिउ, सादा रङका आँखा र धर्का भएको छाती हुने यो चरा निकै सुन्दर र आकर्षक हुन्छ । मध्यपहाडी इलाकामा बस्न रुचाउने काँडेभ्याकुर गर्मीयाममा एक हजारदेखि एक हजार पाँच सयसम्म दुई हजार एक सय मिटरको उचाइमा बिताउँछ । हिउँदमा भने पाँच सयदेखि एक हजार एक सय मिटरको उचाइसम्म बसाइँ सर्ने गर्छ  ।

चितवनमा भने चार सय मिटरको उचाइमा पनि बच्चा र अण्डासहित काँडेभ्याकुर देखिएको नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेश संयोजक बासु विडारीले जानकारी दिनुभयो । उहाँले नेपालमा काँडे भ्याकुरको सङ्ख्या यति नै छ भन्ने उल्लेख नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button