जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायतका मुलुक हुन्: राष्ट्रपति पौडेल

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावको मारमा परेका नेपाललगायतका मुलुकहरू जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार भएको बताउनुभएको छ ।
इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्न जाने बताउनुभयो ।
राष्ट्रपति पौडेलले विश्वमा मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा परेको उल्लेख गर्दै पहाडी संवेदनशील भू–वनौटका कारण हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक रहेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण र जीवीकोपार्जनसम्बन्धी मुद्दामा नेपाल सरकारले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले इसिमोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभाव क्षेत्रमा रहेका झन्डै २ अर्ब जनता तथा सामुद्रिक तटका देशहरूलाई समेत साथ लिई थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो ।
समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि नेपाल प्रतिबद्ध रहेको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताउनुभयो ।
आयोगका उपाध्यक्ष श्रेष्ठले इसिमोडले हिन्दुकुश हिमाली क्षेत्रको दिगो विकासमा पु¥याएको योगदानको कदर गर्दै यस क्षेत्रमा देखिएका जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधता ह्रासबाट हुने महत्त्वपूर्ण मुद्दाहरूलाई समाधान गर्दै अगाडि बढ्न थप ऊर्जा प्रदान गर्ने बताउनुभयो ।
इसिमोडका महासचिव पेमा ग्याम्त्सो (Pema Gyamtsho)ले स्थापनाको चालीसौं वर्षसम्म इसिमोडले हिन्दुकुश पर्वतीय शृङ्खला र यस क्षेत्रका जैविक विविधता र पारिस्थितिकीय प्रणाली र दिगो विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
महासचिव ग्याम्त्सोले हिन्दुकुश पर्वतीय शृङ्खला र यस क्षेत्रका जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण र जीवीकोपार्जनसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरेको बताउनुभयो ।
इमिमोड बोर्डका अध्यक्ष कर्मा छिरिङले दिगो पर्वतीय विकास प्रवर्द्धनसहित हिन्दुकुश पर्वतीय शृङ्खला क्षेत्रले सामना गरिरहेको जटिल चुनौती सम्बोधन गर्न इसिमोडको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
बोर्डका अध्यक्ष छिरिङले हिन्दुकुश पर्वतीय शृङ्खला क्षेत्रका जनताका साझा हितलाई प्रवर्द्धन गर्दै दिगो र समृद्ध भविष्य निर्माणमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहमा इसिमोडमा आबद्ध मुलुक राजदूतहरू, राष्ट्रिय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्