सुनवलमा प्रयोगशाला सेवा सुरु,अपाङ्ग देखि विपन्नलाई निःशुल्क सेवा
नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नागरिकको सहज स्वास्थ्य सेवा पहुँचका लागि स्थानीय तहमै प्रयोगशाला सेवा सुरु गरेको छ ।
सोमबार देखि सुनवल-१ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सेवा शुभारम्भ गरिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
आधारभूत प्रयोगशालामा रगत, दिशा पिसाब, खकार जाँच सहित विभिन्न ३२ प्रकारका परिक्षण हुने स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
सोमबार जिल्ला समन्वय समिति प्रमुख भगौति यादव (रुदल), नगर प्रमुख अर्याल र उपप्रमुख सूर्यप्रसाद दुवेले संयुक्त रुपमा प्रयोगशालाको शुभारम्भ गर्दै प्रयोगशालाले नगरको स्वास्थ्य सेवाको अवस्था सुधारमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“आधारभूत रुपमा उपलब्ध हुने स्वास्थ्य सेवालाई कसरी सहज र प्रभावकारी बनाउन सकिन्छ भन्नेमा नै हाम्रो जोड छ,नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता हो “नगरप्रमुख अर्यालले भन्नुभयो ।
नगरपालिकाले पालिकाका सबैलाई पायक पर्ने गरी वडा नम्बर १२ मा रहेको स्वास्थ्य संस्थामा पनि प्रयोगशाला सेवा सुरु गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो।
इन्द्रेणी, फेयरमेड लगाएतका गैरसरकारी निकायले प्रयोगशाला सञ्चालनमा सहयोग गरेका छन् । सुनवल १ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्र बर्थिङ्ग सेन्टर समेत भएकाले प्रयोगशाला सेवा सुरु भएसँगै धेरै सहज हुने स्थानीयहरूको भनाई छ ।प्रयोगशालामा सुत्केरी,गर्भवती,अपाङ्ग,ज्येष्ठ नागरिक,विपन्न र अतिबिपन्नलाई निःशुल्क सेवा दिइने र अन्यलाई सेवामा ५०% छुट दिइने नगरले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्