तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गलाई ह्वील चियर र कृत्रिम हातखुट्टा सहयोग

चितवन । अपाङ्ग जागरण अभियान चितवनको समन्वय र लायन्स क्लब अफ नारायणगढ, नारायणीको सहयोगमा अपाङ्गलाई ह्वील चियर, कृत्रिम हातखुट्टा सहयोग गरिएको छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा उनीहरुलाई उक्त सामाग्री वितरण गरिएको हो । 

अपाङ्ग जागरण अभियान चितवनले १० जनालाई कृत्रिम हातखुट्टा र लायन्स क्लबले एक अपाङ्ग महिलालाई ह्वील चियर सहयोग गरेको अभियानका अध्यक्ष अम्बिका श्रेष्ठले जानकारी दिनुभयो । भरतपुरमा आयोजित सो कार्यक्रममा क्लबले चारजना विपन्न विद्यार्थीलाई निःशुल्क शैक्षिक सामाग्री प्रदान गरेको थियो । 

सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले विगतका वर्षहरूमा जस्तै यसबर्ष पनि संस्थाले अपाङ्गलाई ह्वील चियर र कृत्रिम हातखुट्टा वितरण गर्दै आएको बताउनु भयो । उनीहरूको दैनिक जीवन सहज र सरल होस भन्ने हेतुले त्यस्ता व्यक्तिहरूलाई सामाग्री वितरण गरिएको उहाँले बताउनु भयो । संस्थाले यस्ता व्यक्तिहरूको लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित सीपमूलक काम दिँदै आएको समेत उहाँले जानकारी दिनुभयो । 

क्लबका गभर्नर आरएस महत्तोले अपाङ्गले अपाङ्गलाई नै सहयोग गर्नु सह्रानीय काम रहेको बताउनु भयो । अपाङ्गले पनि समाजमा केही गर्न सक्छन् भन्दै उहाँले सबै क्षेत्र तथा संस्थाले उनीहरूको जीवनस्तर उकास्न मदत गर्नुपर्ने बताउनु भयो । वितरण कार्यक्रममा अभियानका पदाधिकारी तथा सदस्य तथा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button