रायमाझी सहित आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने उच्चको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी सहित आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको आदेशलाई सदर गरेको हो ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको छ ।
न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश प्रकाश खरेल थुनामै राख्न आदेश भएकाले अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने भएको छ ।
उच्च अदालतले पूर्व गृह सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्लाकै आदेश सदर गर्दै थुनामै राख्न आदेश गरेको हो ।
असार १ गते सबैलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो ।
अदालतले नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी, टेकनाथ रिजाल र रामशरण केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
यस्तै टङ्ककुमार गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई भने साधारण तारेखमा छाड्न आदेश दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताउनुभयो ।
प्रतिवादीहरूबाट १० लाखदेखि १५ लाख रुपैयाँसम्म धरौटी लिन आदेश दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्