व्यवस्था उल्ट्याउने कुरा सम्भव छैन : महासचिव गुरुङ

बाँके । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएको बताउनुभएको छ । नेपालमा लोकतन्त्रको विकल्प नरहेको उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनीहरूको चाहना कहिल्यै पूरा नहुने दाबी गर्नुभयो।
बिहीबार साझ बाँकेका सञ्चारकर्मीसँगको भेटमा बोल्दै महासचिव गुरुङले पछिल्लो समय जातीय, धार्मिक र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको भन्दै जनता सचेत हुनुपर्ने धारणा राख्नुभयो।
महासचिव गुरुङले नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा आफूहरू लागिरहेको बताउनुभयो । उहाँले पहिलो चरणमा पूर्व माओवादीहरूको एकता र त्यस पछि कम्युनिष्ट नाम भएका सबैको एउटै केन्द्र बनाउने अभियानमा आफूहरू रहेको बताउनुभयो। उहाँले एउटै झण्डा भएकाहरू एक ठाउँमा आउनुपर्ने भन्दै आउन नसक्नेहरूको मोर्चा बनाएर अगाडि बढिने समेत बताउनुभयो ।
पहिलो चरणमा बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द (विप्लव) लगायतसँग पार्टी एकताको कुरा भइरहेको उल्लेख गर्दै गुरुङले एकता प्रक्रिया छिट्टै टुङ्गोमा पुग्ने विश्वास ब्यक्त गर्नुभयो।
प्रचण्ड नेतृत्वको सरकारले सुशासनकालागि केही उदाहरणीय काम गरेको बताउँदै गुरुङले मुलुकको स्थित नर्मल कोर्समा अगाडि बढिरहेको दाबी गर्नुभयो। उहाँ ले ‘टीआरसी’ लगायत शान्ति प्रक्रियासँग जोडिएका अन्य विधेयकमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको उल्लेख गर्दै संसद्को हिउँदे अधिवेशनसम्म सहमति जुट्नेमा आशावादी रहेको बताउनुभयो।
नेकपा (माओवादी केन्द्र) को विशेष अभियानका क्रममा कोहलपुर आएका गुरुङले बिहीबार बैजनाथ तथा कोहलपुर नगरपालिकाका अगुवा कार्यकर्तासँग अन्तरक्रिया गरेको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स)ले जानकारी दिनुभयो । पाण्डेका अनुसार महासचिव गुरुङ शुक्रबार सल्यानहुँदै जाजरकोट र रुकुममा पुगेर भूकम्प प्रभावितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्