बागमती प्रदेशसभा संसदीय समितिका सभापति चयनका लागि सर्वदलीय बैठक आव्हान

मकवानपुर । बागमती प्रदेशमा संसदीय समितिको सभापति चयन गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरिएको छ । सभापति चयनका विषयमा छलफल गर्न मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी मङ्सिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा बुधबार प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । लामो समयसम्म सभापति विहीन रहेको प्रदेश सभा समितिलाई पूर्णता दिनका लागि सर्वदलीय बैठक आह्वान गरिएको हो । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
बागमती प्रदेश सभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति गरी पाँचवटा समितिहरू रहेका छन् । समितिको सभापतिमा सबै राजनीतिक दलहरूको आ–आफ्नै दाबी रहँदा सभापति चयनको विषय नै पेचिलो र अन्याैल बन्दै गएको छ । यता मुख्यमन्त्री जम्मट्टेल प्रदेशमा रहेका सात राजनीतिक दलहरूलाई नै भाग पुर्याउने उद्देश्यले दुईवटा समिति थप्ने तयारीमा रहेको समेत चर्चा छ । यद्यपि, हाल उक्त विषयको छलफल सुरु नभएको उहाँको दाबी छ ।







प्रतिक्रिया राख्नुहोस्