तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा साढे नौ हजार बढी दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्ति

सुर्खेत । कर्णालीमा साढे नौ हजार बढी दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्ति रहेको पाइएको छ । 

नेपाल नेत्रहीन संघ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूको ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्तिहरूको सवाल र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रदेशभरि ९ हजार ७ सय ३९ जना रहेको जानकारी दिइएको हो । 

नेपाल नेत्रहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले सञ्चारमाध्यमको विकाससँगै अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार बारे चेतनाको स्तर बढेपछि अपाङ्गता भएका व्यक्तिहरूको सङ्ख्या समेत बढेको बताउनु भयो । उहाँले संविधानले नै कानूनीरुपमा अधिकार सुनिश्चित गरिएपछि असंगठित र दूरदराजमा रहेका अपाङ्गता भएका व्यक्तिहरू सङ्गठित हुन लागेको जानकारी दिनु भयो । 

उहाँका अनुसार ती मध्ये न्यून दृष्टियुक्त भएका व्यक्तिको सङ्ख्या ७ हजार ४ सय ७१ रहेको पाइएको छ । ती मध्ये ३ हजार ६ सय ४९ पुरुष र ३ हजार ८ सय २२ महिला रहेका छन् । यस्तै पूर्ण दृष्टि सम्बन्धि अपाङ्गता भएका २ हजार २ सय ६८ मध्ये १ हजार १ सय ३२ पुरुष र  १ हजार १ सय ३६ महिला रहेका छन् । 

अहिलेपनि अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सीमित पहुँच, विद्यालय पहुँचयुक्त नहुनु, शैक्षिक सामाग्री नहुनु, रोजगारीबाट बञ्चित हुनु, पहुँचयुक्त संरचना नहुनु जस्ता समस्याहरू रहेका कार्यक्रमका सहभागीहरूले बताएका छन् । कार्यक्रमका सहभागीहरूले अपाङ्गता भएका व्यक्तिको समस्या र हक, हित र अधिकारलाई प्राथमिकता दिन समेत आग्रह गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button