तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता कसैले हरण गर्न सक्दैन’

जनकपुरधाम । मधेश प्रदेश सभाका सदस्यहरुले सङ्घीयता उपहारमा नआई नेपाली जनताको ठूलो सङ्घर्ष एवं बलिदानले आएकाले कसैले हरण गर्न नसक्ने बताउनुभएको छ ।

मधेश प्रदेश सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बसेको चौथो बैठकको विशेष समयमा बोल्ने सदस्यहरुले सङ्घीयताको विरुद्धमा लागेका पूर्व राजालाई निर्मल निवासबाट पनि बाहिर निकाल्नुपर्ने माग गर्नुभयो ।

प्रदेश सभाको बैठकमा बोल्दै पूर्व कृषिमन्त्री वसन्त कुशवाहाले जनताले सङ्घीयताको अनुभूति नै गर्न नपाएको बताउनुभयो । सुशासनको अनुभूतिमा कमी आएकाले सङ्घीयताको विरुद्धमा आवाज उठ्न थालेको कुशवाहाले बताउनुभयो ।

काँग्रेसका नेता रामसरोज यादवले सङ्घीयताको विपक्षमा शुरु भएको षड्यन्त्र विरुद्ध एक जूट भएर सङ्घीयता पक्षधरहरूले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका प्रदेश सभाका सदस्य हरिनारायण महतोले सङ्घीयताको विरुद्धमा षड्यन्त्र गर्ने पूर्व राजा माथि कारबाही हुनुपर्ने माग गर्नुभयो ।

जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले सङ्घीयताको विपक्षमा रहेकाहरूमाथि कारबाही गर्न आवश्यक भएको बताउँदै सङ्घीयताले जनताको पक्षमा धेरै कामहरू हुन थालेको दाबी गर्नुभयो ।

बैठकमा नेकपा माओवादी केन्द्रका नेता यूवराज भट्टराई, लोसपाका जैनुल राईन, स्वतन्त्र सांसद अविरुद्ध सिंह सहितका प्रदेश सभाका सदस्यहरुले समसामयिक विषयमा सदन तथा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button