बाँकेमा चालू आर्थिक वर्षमा ५७ सवारी दुर्घटनामा २४ जनाको मृत्यु

बाँके । बाँकेमा नियमनकारी निकायको प्रभावकारी उपस्थिति अभावका कारण सवारी दुर्घटनामा अनाहकमा निर्दोषले समेत मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर १० गतेसम्मको तथ्याङ्क हेर्ने हो भने बाँकेमा ५७ वटा सवारी दुर्घटना भएका छन् । त्यसमा २४ जनाले ज्यान गुमाएका छन् । ४२ जना गम्भीर घाइते हुँदा ६० जना सामान्य घाइते भएको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय बाँकेसँग छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपीकृष्ण सुवेदीका अनुसार मादक पदार्थ सेवन, लापरवाही र तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् ।
यी तीन कारण मध्ये सबैभन्दा बढी दुर्घटना मादक पर्दाथ सेवनका कारण भएको अनुसन्धानबाट खुलेको सुवेदीको भनाई छ । ‘चालू आर्थिक वर्षमा भएका दुर्घटनाको तथ्याङ्क र गतवर्ष यही समयावधिमा भएको दुर्घटनाको तथ्याङ्क केलाउँदा सङ्ख्यात्मक हिसाबले केही घटेको सुबेदीले बताउनुभएको छ। तथापि ५७ वटा दुर्घटनामा ८१ वटा सवारीसाधन संलग्न हुँदा २४ जनाले ज्यान गुमाएका छन् ।’ यी दुर्घटनामा ठूला सवारीसाधन भन्दा पनि मोटरसाइकल, अटो रिक्सा बढी परेका छन् ।
मुख्य राजमार्ग क्षेत्रभन्दा पनि ग्रामीण र भित्री सडकमा दुर्घटना बढी भएको तथ्याङ्क देखिन्छ । भित्री सडकमा मोटरसाइकल र अटो रिक्सा बढी चल्ने भएकाले ठूला सवारीसाधन भन्दा पनि साना सवारी साधनले दुर्घटनाको सङ्ख्या बढाएको उहाँको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम गर्दै आएको जानकारी समेत सुवेदीले दिनुभएको छ।
चालू आर्थिक वर्षको हालसम्म ६४१ वटा सचेतीकरण सम्बन्धी कार्यक्रम गरिएको उहाँले बताउनुभयो । ‘विद्यार्थी, चालक, सहचालक देखि सडक प्रयोग गर्ने आम नागरिकलाई समेत ट्राफिक नियमबारे सचेत बनाउने कार्यक्रम सञ्चालन गरिरहेका बताउँदै सडक दुर्घटना न्यूनीकरणको लागि आफूहरूको पहलले मात्रै सम्भव नभएको हुँदा सडक प्रयोग गर्ने सबैले अनुशासनपूर्वक ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह समेत गर्नुभएको छ।







प्रतिक्रिया राख्नुहोस्