‘गोपनीयताको हक र प्रकाशन स्वतन्त्रता बीचको फरक बुझेर काम गरौँ’
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले गोपनीयताको हक र प्रकाशन स्वतन्त्रता बीचको फरक बुझेर यौन हिंसा पीडितको समाचार सङ्कलन एवं प्रकाशन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

यौन हिंसा पीडितका समाचार सङ्कलन गर्दा ध्यान दिनुपर्ने विषयमा आज महिला, कानुन र विकास मञ्चले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले गोपनीयता व्यक्तिगत स्वायत्तता र सम्मानको विषय भएकाले यसको सम्मान गरिनुपर्ने बताउनुभयो । महिलाको गोपनीयता अरूभन्दा संवेदनशील हुने भएकाले यस विषयमा ध्यान दिन पूर्व प्रधानन्यायाधीश श्रेष्ठले सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।
लैङ्गिक हिंसाका कारण विश्वमा कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत नोक्सान हुने गरेकाले यसको अन्त्यका लागि सबैले योगदान गर्नुपर्ने पूर्व प्रधानन्यायाधीश श्रेष्ठको भनाइ थियो । हिंसामा परे पनि १० प्रतिशतको मात्र न्यायमा पहुँच भएकाले धेरैले पीडित भएरै जीवन गुजार्नुपरेको जानकारी पनि उहाँले गराउनुभयो । यसको अन्त्यका लागि न्यायमा पहुँच वृद्धिका लागि पनि सरोकार भएका सबैले सहकार्य गर्नुपर्नेमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठको जोड थियो ।
पत्रकार बबिता बस्नेतले ‘आमसञ्चार माध्यममा यौन हिंसाका सामग्री : पीडितको गोपनीयताको सवाल’ विषयक प्रस्तुति गर्नुहुँदै तीन दशक अघिभन्दा अहिले मूलधारका सञ्चार माध्यम यौन हिंसा पीडितका समाचारका विषयमा जिम्मेवार भएको देखिए पनि सामाजिक सञ्जाल र युट्युबरका कारण केही समस्या देखिएको बताउनुभयो । बेलायतमा यौन हिंसाका आरोपितको नाम प्रमाणित नभएसम्म गोप्य राखिने गरेकामा नेपालमा त्यस्तो हुन नसक्दा आरोपितले जीवनभर त्यसको असर भोग्नुपरेको उहाँले सुनाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्