वीरगंज महानगरपालिका प्रमुख सिंह सम्मानित

वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका महानगरहरूमध्ये वीरगंज महानगरपालिकाले सबैभन्दा पहिला अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सम्झौता गरेकोले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई आज एक कार्यक्रमकाबीच सम्मान गर्नु भएको छ ।
छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषद्वारा आयोजित कार्यक्रममा वीरगंज महानगर पालिकाका प्रमुख राजेशमान सिंहलाई सम्मान गरिएको हो ।
नेपाल सरकारको सामाजिक सुरक्षा कोष र वीरगंज महानगरपालिका बिच अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन महानगर मध्ये बीरगंजले पहिलो सम्झौता गरेसँगै सम्मान गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड सहित श्रम रोजगार तथा सामाजिक सुरक्षा सुरक्षामन्त्री भण्डारी, आई.एल.ओ.का प्रतिनिधि, जि.आइ.जेडका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । नेपालको संविधानको धारा ३४ ले सबै श्रमिक लाई योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संवैधानिक प्रावधानको कार्यान्वयनका लागि वीरगंज महानगरपालिकाले गरेको प्रयास कोसेढुंगा सावित हुने विश्वास आफूले लिएको सम्मान कार्यक्रममा नगर प्रमुख सिंहले बताउनु भयो ।
उहाँले महानगर क्षेत्र भित्रका सबै श्रमिक तथा रोजगारदाताले श्रम कानुनको पूर्ण परिपालना गरि श्रम बजारलाई आकर्षक, सुरक्षित र उत्पादकत्वलाई टेवा दिने क्षेत्रको रुपमा विकास गर्न महानगर प्रतिबद्ध रहेको घोषणा गर्नुभयो ।
नगर प्रमुख सिंहले वीरगंज महानगर क्षेत्र भित्रका अनौपचारिक क्षेत्र कृषि, निर्माण, यातायात र घरेलु कामदारमा काम गर्ने श्रमिकलाई महानगरपालिका द्वारा सह योगदान समेत गरि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कार्यको सुरुवात यो सम्झौताले गरेको जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रका श्रमिक लाई यस योजनामा आबद्ध गराउन बजेट व्यवस्थापन र श्रमिक छनौटको कार्य चाडै अगाडि बढाउने प्रतिबद्धता समेत नगर प्रमुख सिंहले व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्