तपाईँ सुन्दै हुनुहुन्छः

केपी ओली कप क्रिकेट : नेपाल आर्मीको विजयी शुरुवात

कास्की । पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलोलाई ११० रन अन्तरले जित दर्ता गर्‍यो ।

नेपाल आर्मीलाई टस जितेर ब्याटिङको निम्तो दिएको आयोजक निलो विरुद्ध आक्रामक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो ।

नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ बलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्दतले ३८ रन बनाउँदै शुभम् खनालको बलमा पिभलियन फर्के ।

आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिँदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे । आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम् खनालले १ विकेट लिए ।

१९६ रनको रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १।४ ओभर बलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट लिए । उनले आयोजक निलोका लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई शून्य रनमा पेभिलिएनको बाटो देखाए ।

आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणवीर यादवले १६ रनको व्यक्तिगत योगदान दिँदा ओपनर रोनिम तिवारीले १५ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट लिए । खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।

मङ्गलवार पहिलो खेल सुदूरपश्चिम र नेपाल पुलिस क्लब, दोस्रो खेल कोशी प्रदेश र नेपाल आर्मीका बिच हुनेछ

प्रतिक्रिया राख्नुहोस्

Back to top button