‘आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताउनुभएको छ ।
आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्ण भूमि भए पनि यसको व्यवस्थापन र विकासमा राज्य चुकेको बताउनुभयो । उहाँले आयुर्वेद क्षेत्रको प्रचुर सम्भावनालाई दृष्टिगत गर्दै भारत र चीनको सहयोग लिएर साझेदारी अघि बढाउँदा उपलब्धि हासिल हुने दाबी समेत गर्नुभयो ।
आर्थिक स्रोतका हिसाबले पनि आयुर्वेद ठूलो क्षेत्र हुन सक्ने बताउँदै मन्त्री बस्नेतले भन्नुभयो, “हाम्रो जडीबुटीको यति ठूलो भण्डार छ कि यसलाई राज्यले जति हदसम्म प्रयोग, उत्खनन र व्यवस्थित गर्न सक्नुपर्दथ्यो, त्यो भएन । जडीबुटी खेतीको सम्भावना धेरै रहेको उल्लेख गर्दै उहाँले जडीबुटीको उत्पादन र निर्यात बलियो आर्थिक स्रोत बन्न सक्ने बताउनुभयो ।
आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अध्यापन गर्नुको सङ्ख्या बढाउनुपर्नेमा समेत जोड दिँदै मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि आवश्यक छलफललाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक वासुदेव उपाध्याय डा वासुदेव उपाध्यायले आयुर्वेदको अभ्यासलाई प्रमाणमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा भारत, पोर्चुगल, बङ्गलादेश, श्रीलङ्कालगायत देशको उपस्थितिमा आयुर्वेदका ज्ञान, सीप एक अर्कामा आदानप्रदान गर्न सहयोग पुर्याउने फाउन्डेसनका अध्यक्ष विजेन्द्र शाहले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्