तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाकाे राजदूतमा पौडेलको नाम सर्वसम्मतिले अनुमोदन 

काठमाडौँ । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौडेलको नाम अनुमोदन गरेको छ ।

समितिको आज बैठकले प्रस्तावित राजदूत पौडेलको सुनुवाई सकेर सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।

सुनुवाईका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत पौडेले नेपाल र क्यानडाबीचको द्विपक्षीय राजनीतिक सम्बन्ध सुदृढ तुल्याउने, आर्थिक सम्बन्ध विस्तार गर्ने लगायतका विषयमा कार्ययोजना प्रस्तुत गर्नुभयो ।

प्रस्तावित राजदूत पौडेलले नेपाल र क्यानडाबीच विद्यमान सम्झौताहरूको कार्यान्वयन एवं व्यापार र लगानीका क्षेत्रमा नयाँ सम्झौताहरू गर्नका लागि पहल गर्ने, व्यापार, लगानी, प्रविधि हस्तान्तरण, विकास सहायता, पर्यटन प्रवद्र्धन, जलवायु वित्त जस्ता क्षेत्रहरूमा सहकार्य तथा आपसी हितलाई थप प्रवद्र्धन गर्ने बताउनुभयो । 

उहाँले व्यापार, लगानी र प्रविधि हस्तान्तरणका लागि पहल गर्ने बताउँदै क्यानडामा नेपालका मौलिक उत्पादनहरू उनी, गलैँचा, पश्मिना, नेपाली कागज, हस्तकला, चिया कफी, च्याउ, जडिजुटी जस्ता बस्तुको निर्यात बढाउन प्रयास गर्ने पनि बताउनुभयो ।

गत कात्तिक २ गते बसेको मन्त्रीपरिषद्को बैठकले पौडेललाई क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीको लागि गैर आवासीय राजदूत तथा इन्टरनेशनल सिभिल एभियसन अर्गनाइजेशनका लागि स्थायी प्रतिनिधि समेत रहने गरी सिफारिस गरेको थियो । 

सुनुवाई अघि आजै समितिले प्रस्तावित राजदूत पौडेल विरुद्ध परेको उजुरीका विषयमा उजुरीकर्ताहरू छलफल गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button