तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकामा ‘जिपिएस’ प्रणाली सहितको तथ्याङ्क सङ्कलन गरिदैं 

चितवन । भरतपुर महानगरपालिकाले जिपिएस (ग्लोबल पोजिसन सिष्टम)  प्रणाली लागु गर्न तथ्याङ्क सङ्कलनको प्रक्रिया सुरु गरेको छ । 

वडाको प्रोफाइललार्ई एपको माध्यमबाट डिजीटलाईजेशन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका वडा नम्बर २ बाट यो कामको प्रक्रिया चितवनमै पहिलोपटक सुरु गरिएको हो । कार्यालयले डिजीसफ्ट डेभलपर्स प्राविधिक सहयोगमा शुक्रवार तथ्याङ्क सङ्कलकलाई अभिमुखीकरण दिइएको अध्यक्ष मनोज रानाभाटले जानकारी दिनुभयो । 

‘यस प्रणालीबाट वडाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधारको जानकारी हुनुका साथै वडाको योजना निर्माण तथा समस्या पहिचान स्मार्ट महानगरमा समेत टेवा पुग्नेछ ।’ अध्यक्ष रानाभाटले भन्नुभयो  । 

प्रोफाइलमा जिपिएस सिष्टम लागु भएपछि हरेक घरको  ठेगाना मोबाइलबाट नै थाहापाउन सकिने छ । एपबाट प्रोफाइलमा घरमुलीको नाम, फोटो र घरको फोटो समेत राखिनेछ । 

‘हरेक काम डिजिटलको माध्यमबाट गर्ने हाम्रो चाहना छ, यही उद्देश्यले पहिला डिजिटलबाट वडाको प्रोफाइल तयार गर्न लागिएको हो’, वडाध्यक्ष रानाभाटले भन्नुभयो, ‘प्रोफाइल तयार पार्न तथ्याङ्क सङ्कलनकर्ता घरघरै जानुहुन्छ, मोबाइलमा एपको प्रयोगबाट हरेक वडावासीको सम्पूर्ण विवरण लिनुहुन्छ ।’  तथ्याङ्क सङ्कलनका लागि करिब ५० जना सङ्कलनकर्ताहरू आईतबारबाटनै फिल्डमा खटाउन लागिएको उहाँले बताउनु भयो  ।

 

‘एक महिनामा हामीले वडाको प्रोफाइल डिजिटलको माध्यमबाट तयार पार्ने लक्ष्य लिएका छौँ, अब प्रत्येक वडावासीको प्रोफाइल वडा कार्यालयमा रहने छ’, वडाध्यक्ष रानाभाटले भन्नुभयो , ‘६० भन्दा बढी प्रश्नको उत्तर सङ्कलनकर्ताले लिनेछन्, घरका सबै सदस्यको विवरण र जिएएस सिष्टमलाई पनि  एपबाट समावेश गरिने छ,। 

डिजीसफ्टका प्रबन्ध निर्देशक बुद्धि डंगोलले देशभरीका ३० वटा पालिकामा कम्पनीले यो एपबाट प्रोफाइल तयार पारिएको भन्दै पहिलो पटक चितवनमा भरतपुर महानगरपालिकाबाट सुरु गर्न लागिएको बताउनुभयो  । ‘भरतपुर महानगरपालिका देशकै केन्द्र र विकसित पालिका मध्ये पर्छ, उहाँले भन्नुभयो, हामीलाई यहाँबाट पटक पटक अफर मार्फत वडा नम्बर २ बाट सुरु गर्न लागेका हौँ ।  उनका अनुसार कम्पनीले भरतपुरका अन्य वडाको लागि सम्झौता गर्न लागिएको   र नवलपुरको गैँडाकोटमा पनि छिट्टैनै काम सुरु गर्नेछ ।  एपबाट  वडालाई जुनसुकै काम गर्न सहज हुने र कसैलाई पनि तथ्याङ्कबाट अध्ययन अनुसन्धान सहजै गर्न सक्नेछन । एप्समा हरेक घर परिवारको व्यक्तिगत तथा सम्पत्तिको विवरण लगायतका सूचकलाई गोप्यता कायम गरिएको उहाँले बताउनु भयो  । 

यस प्रविधिबाट प्रत्येक वडावासीको विवरण दुरुस्त तत्काल थाहा पाउन, डेटा अपडेट र बजेट विनियोजनका लागि सजिलो बनाउन, सहजै तुरुन्तै र प्रभावकारी सेवा प्रदान गर्न, खर्च र समय बचतको लागि पनि टेवा पुग्नेछ । 

वडा प्रोफाइलका लागि प्रत्येक टोलबाट दुई जना गणकहरू खटाइने वडा कार्यालयले जनाएको छ । वडामा १८ वटा टोल विकास संस्था छन् भने हाल यहाँ पाँच हजार दुई सय घरधुरी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button