तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा शनिबार अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने 

पोखरा । पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पोखरामा हुने उक्त प्रतियोगितामा करिब ४५ जना चिनिया प्रतियोगीहरू सहित करिब ६ सय जना प्रतियोगीहरू सहभागी हुने भएको उक्त प्रतियोगिताका खेलाडी दर्ता विभाग एवं पुरस्कार वितरण संयोजक गोकर्ण कार्कीले बताउनु भयो । 

उक्त प्रतियोगिता मुख्य गरी टिम इभेण्ट, एकल र विद्यार्थीहरूको लागि तथा अन्य सहभागीहरूको लागि भने ह्पाप्पी दौड हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा टिम इभेण्ट तर्फ ४० किलोमिटरको दुरी निर्धारण गरिएको छ भने एकल तर्फको दौडमा ३८ किलोमिटरको दुरी निर्धारण गरिएको छ । प्रतियोगितामा टिम इभेण्ट तर्फ चीनको ३ टिम, नेपालीहरूको ११ टिम सहभागी हुने भएको आयोजकले जनाएको छ । एक टिममा कम्तीमा एक महिला वा पुरुष अनिवार्य गरिएको छ भने एक टिममा ३ जना हुनुहुने छ । टिम इभेण्टमा साइकल दौड, दौड र डुङ्गा दौड गरी ४० किलोमिटरको दुरी निर्धारण गरिएको हो । 

पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको नेपाल चिन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । उक्त प्रतियोगिताले पोखराको खेल पर्यटनको प्रबद्र्धनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । 

त्यसै गरी पोखराको बाराहीघाट देखि सुरु हुने उक्त दौडमा डेभिडफल्स, फुर्सेखोला, मट्टिखान रिसोर्ट, कुभिण्डे भञ्याङ्ख, उल्लेरि, भुम्दी, ओख्लेडाँडा, लुकुन्स्वाँरा, पुम्दीकोट, शान्ति स्तुपाः गौरी प्रा.वि., फेवाताल पारी लिचिवोट हुँदै पुनः वाराही घाटसम्मको दुरी तय गरिएको छ । 

प्रतियोगिताको मुख्य इभेन्टका लागि चीनबाट खेलाडी सहितको एक टोली बिहीबार नै पोखरा आइ सकेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरले चाटर्डबाट खेलाडी सहित ९५ जनाको टिम चाइनाको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता यशोदा सुवेदीले बताउनु भयो । उक्त विमान बिहीबार बेलुकाकै रित्तै काठमाण्डौं फर्किएको हो । 

त्यसैगरी एकल तर्फको इभेण्टमा भने ३६ जना चिनिया धावक र ४० भन्दा बढी नेपाली धावकहरू सहभागी हुनुहुने भएको छ । ३८ किलोमिटर हुने छ जसमा करिब १ सय ४० जना धावकहरू सहभागी हुनुहुने भएका छन्। छात्र छात्रा तर्फको ५ किलोमिटर दौड र साथै ३ किलोमिटरको ह्याप्पी रन समेत हुने भएको छ । छात्रछात्रामा करिब ४ सय भन्दा बढी खेलाडीहरू सहभागी हुने भएको स्वयंसेवक विशेष थापाले बताउनु भयो । 

प्रतियोगितामा नेपाल भूतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रुपमा रहनेछन् भने चीनबाट १६ जना चिकित्सक सहितको स्वतथ्यकर्मीको टोली समेत रहनुहुने छ । 

उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद्, नेपाल ट्रायथलन संघ, चीनको कुन्मिङ्ग शहरका ५ वटा संघ संस्थाहरूको सहयोग हुने भएको बताइएको छ । 

टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकल तर्फको विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार र तेस्रो हुनेले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौँ स्थानसम्म आउनेले १८ हजार र आठौँ देखी दशौँसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

५ किमी विद्यार्थी (छात्र÷छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५/२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रोले बीस हजार तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button