बाँकेमा जीर्ण कारागारमा ठेलमठेल भीड, सुविधा सम्पन्न कारागार रित्तै

नेपालगञ्ज । नेपालगञ्ज कारागार जीर्ण बन्दै गएपछि भत्किने जोखिम बढेको छ । २ सय कैदीबन्दी राख्ने क्षमता रहेको कारागारमा अहिले ८ सय कैदीबन्दीलाई कोचाकोच गरी राखिएको छ । अर्थ मन्त्रालयले बजेट र दरबन्दी स्वीकृत नगर्दा १५ सय कैदीबन्दी राख्न सक्ने क्षमताको सुविधा सम्पन्न नौवस्ता कारागार भने रित्तै छ ।
नेपालगञ्ज कारागार कुन बेला भत्किने हो भन्ने त्रास त छ नै, ठेलमठेल भीडले व्यवस्थापन पनि भद्रगोल देखिन्छ । सुत्ने ठाउँको अभाव एकातिर छ भने अर्कोतिर शौचालयका लागि पनि लामै लाइन लाग्नुपर्ने बाध्यता छ । चिसो मौसम सुरु भएकाले अब अझ अप्ठेरो हुने अवस्था छ । पानी परेको बेला अर्को तनाव थपिन्छ । कारागारभित्र निकै सकसपूर्ण जीवन बिताइरहेको कैदीबन्दीहरुको गुनासो छ ।
तर, नौबस्तामा बनाइएको आधुनिक कारागार भने रित्तै छ । खाने, बस्ने, सुत्ने ठूल्ठूला कोठाहरू छन् । बन्दी राख्ने भवनका कोठाहरू चिसो र तातो नहुने गरी निर्माण गरिएका छन् । शौचालय र स्नान गृहको राम्रो प्रबन्ध गरिएको छ । निर्माण कम्पनीले गत मङ्सिरमै कारागार भवन हस्तान्तरण गरेको थियो । तर, अर्थ मन्त्रालयबाट बजेट र कर्मचारी दरबन्दी स्वीकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गृहको निर्देशन आउने बित्तिकै कैदीबन्दी स्थानान्तरण गरिने बताउनुभयो ।
गृह प्रशासनले असुरक्षित कारागारबाट कैदीबन्दीलाई नौवस्तास्थित आधुनिक कारागारमा सार्न पत्राचार गर्दै आए पनि कार्यान्वयन हुन सकेको छैन । जसले व्यवस्थित कारागार रित्तै हुँदा जीर्ण कारागारले जोखिम बढाएको छ ।







प्रतिक्रिया राख्नुहोस्