भूकम्प प्रभावित क्षेत्रमा ८०० थान त्रिपाल पठाइयो

नेपालगञ्ज । बाँकेबाट ८ सय थान त्रिपाल र ३५ रोल पीफर्म भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल र पीफर्म पठाएको हो ।
विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएका ८ सय थान त्रिपाल र ३५ रोल पीफर्म जाजरकोट र रुकुम पश्चिम पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । पोखरेलले जाडोको मौसम सुरु भइसकेकाले अहिले भूकम्पपीडितलाई सबैभन्दा बढी आवश्यक त्रिपाल र ओछ्याउने सामग्री रहेको देखेर त्रिपाल र पीफर्म पठाइएको बताउनुभयो ।
नेपाल प्लाइउड म्यानुफक्चर एसोसिएसनले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ८ सय थान त्रिपाल र २० रोल पीफर्म उपलब्ध गराएको थियो । एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेसहितको टोलीले ती सामग्री हस्तान्तरण गरेको थियो।
यसअघि पनि विभिन्न सङ्घसंस्था र व्यक्तिबाट प्राप्त भएको राहतसँगै भारत सरकारबाट तीन लटमा प्राप्त भएको ठूलो परिमाणको राहत सामग्री र चौथो लटमा आएको अत्यावश्यक औषधि पनि तत्काल प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्