तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट बिहीबार तेस्रो चाटर्ड फ्लाइट हुँदै 

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ११ महिना वितिसक्दासम्म पनि व्यवसायीक रुपमा अझै अन्तर्राष्ट्रिय सिधा हवाई उडान हुन सकेको छैन । यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म चाइनाबाट दुई वटा र भुटानबाट एउटा गरी तीन वटा चाटर्ड फ्लाईट भएको छ भने अब पुनः चाइनाबाट भोलि (बिहीबार) अर्को चाटर्ड फ्लाइट गर्ने तयारी भएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खेलको माध्यमबाट सुरु भएको चाटर्ड तेस्रो पटक समेत खेलका लागि पुनः चाटर्ड मार्फत हुने भएको हो । यही मङ्सिर ७ गते बिहीबार दिउसो हिमालयन एयरबाट ७४ जना खेलाडी सहितको १ सय ४ जनाको टिम चीनको कुनमिङ शहरबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको नेपाल चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । यही मङ्सिर ९ गते पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री प्रतियोगितामा ११ जना भिआइपी, १९ जना प्राविधिक सहित खेलाडीहरू चाटर्ड मार्फत पोखरा आउने भएको उहाँले जनाउनु भयो । 

बिहीबार दिउसो ३ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चाटर्ड फ्लाईट मार्फत चाइनाबाट हिमालयन एयरलेको विमान पोखरामा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता यशोदा सुवेदीले बताउनु भयो । खेलाडी सहितको टिम लिएर आउने उक्त विमान पोखराबाट काठमाडौँ अवतरण गर्ने भएको उहाँले जनाउनु भयो । 

नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट फेस्टिभलका लागि गत असार ६ गते ७२ जना चिनियाँ पर्यटक तथा खेलाडीहरूलाई चार्टर उडानबाट पोखरा ल्याइएको थियो । उक्त विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित अन्य नेपाली र चिनिया गरी ९४ जना सवार हुनु भएको थियो ।

त्यस्तै भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ यात्रु लिएर टुक एयरले गत भदौ २३ गते पोखरामा दोस्रो चाटर्ड उडान गरेको हो । उक्त विमानले पोखराबाट ४२ जना विदेशी पर्यटकलाई लिएर भुटानको थिम्पु प्रस्थान गरेको थियो । 

त्यसैगरी जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावित भएकाहरूको लागि चीनले नेपाललाई दिएको राहत लिएर चिनियाँ सेनाका २ कार्गो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत कात्तिक २२ गते एकै दिन दुई विमानले चाटर्ड फ्लाईट गरेका हुन्। चीनले नेपाललाई करिब २८ करोड भन्दा बढीको राहत प्रदान गरेको थियो । 

पोखरामा चाटर्ड भन्दा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान गर्न पोखराका पर्यटन व्यवसायीहरूले माग गरेका छन्। पोखरामा चाटर्ड भन्दा अब नियमित रुपमा सिधा हवाई उडान गर्न पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । 

पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पोखरामा नेपाल–चीन क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको हो । नेपाल र चिनिया धावकहरू बिच क्रस कन्ट्री दौड प्रतियोगिता सहित चार इभेटमा प्रतियोगिता हुने भएको अध्यक्ष पालिखेले जनाउनु भयो । उहाँका अनुसार पोखरामा आगामी बर्ष देखि निरन्तर रुपमा यस प्रतियोगिता सहित ड्राडन वोर्ट रेस प्रतियोगिता समेत आयोजना गर्ने बताउनु भयो ।

नेपाल चीन बिचको भातृत्वसंगै पर्यटन प्रबद्र्धनमा यस्ता इभेण्टले मद्दत पुग्ने उहाँको दाबी छ । मुख्य इभेन्टतर्फ टिम इभेन्ट र एकल इभेन्ट बिच प्रतिस्पर्धा हुने भएको छ । टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकल तर्फको विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार र तेस्रो हुनेले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौँ स्थानसम्म आउनेले १८ हजार र आठौँ देखी दशौँसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button