तपाईँ सुन्दै हुनुहुन्छः

अर्थतन्त्रमा देखिएका समस्या समाधानबारे निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा नेपालको आर्थिक पक्षबारे निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल भएको छ ।

सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालासँग छलफलको आयोजना गरेको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सबैको साझा प्रयासबाट मात्रै अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न सकिने भएकाले अर्थतन्त्रको सुधारका लागि मिलेर काम गर्न सरोकारवाला सबैको सहयोग र साथ रहनुपर्ने छलफलका क्रममा बताउनुभएको बैठकबाट बाहिरिनुभएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिका साथै मन्त्रीहरू, राजनीतिक दलका नेतालगायत सहभागी रहनुभएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय योजना आयोग तथा विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिवहरूसँग पनि यस्तै किसिमको छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button