चितवनमा पाटेबाघ मृत फेला, जुधेर मरेको हुनसक्ने अनुमान

चितवन । तस्करले खाल्डो खनेर दुईवटा गैँडा मारेको केही दिन नबित्दै पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका २७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।
अन्दाजी ६ वर्षको पोथी बाघ मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभयो । ‘अन्दाजी त्यस्तै ६, ७ वर्षको बाघ हुनुपर्छ । डाक्टरसाबहरुले हेर्दै हुनुहुन्छ । उहाँले भन्नुभयो, बाघ जुधेर मरेको हो ।’ तिवारीले भन्नुभयो ।
निकुञ्जको चिकित्सक सहितको प्राविधिक टोलीले बाघ निकुञ्जको मुख्यालय कसरा ल्याएर पोष्टमार्टमको तयारी गरेको छ । सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा बाघ रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्