तपाईँ सुन्दै हुनुहुन्छः

‘ज्येष्ठ नागरिकलाई गलत गर्नेविरुद्ध खबरदारी आवश्यक’ :सभामुख घिमिरे

भद्रपुर, झापा ।आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा सहभागिताका लागि हिजो गृहजिल्ला झापा आउनुभएका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकहरूलाई गलत गर्नेविरुद्ध खबरदारी गर्न आग्रह गर्नुभएको छ ।

हिजो अपराह्न बिर्तामोडमा ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण गर्दै सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरू सबैको साझा अभिभावक भएको भन्दै उहाँहरूको सम्मान जरुरी भएको बताउनु भयो ।

बिर्तामोड नगरपालिकाको आयोजना र सभामुख घिमिरेकै समन्वयमा विर्तामोड र कनकाई नगरपालिका क्षेत्रका करिब १५० जना ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित लौरो वितरण गरिएको थियो ।

ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै सभामुख घिमिरेले बुढेसकालको सहाराका लागि लौरो प्रदान गरेको बताउनु भयो । उहाँले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यही लौरोले खबरदारी गर्न आग्रहसमेत गर्नुभयो ।

सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरूलाई ढाका टोपी, मजेत्रो र लौरो प्रदान गर्नुभएको थियो । सहभागी ज्येष्ठ नागरिकहरूलाई यातायात खर्चसमेत उपलब्ध गराइएको थियो ।

विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, उपप्रमुख नगेन्द्र संग्रौला, जनप्रतिनिधिहरूको , प्रमुख प्रशासकीय विनोद कुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

यसैगरी अर्जुनधारा र बुद्धशान्तिमा समेत ज्येष्ठ नागरिकलाई आज लौरो वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button