भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो
रुकुम पश्चिम । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ ।
भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले बताउनुभयो ।
भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेल लगायतका राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसिकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ ।
अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उहाँको भनाइ छ ।
भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई रु १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई रु ६१ लाख गरी कूल रु ७७ लाख नगद वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो । सरकारले प्रति मृतकका घरपरिवारलाई रु दुई लाखका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा रु दुई लाख र थप रु एक लाखका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाएको थियो । जसमा रु ६७ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण र पुनः स्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिनुभयो ।
रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।
चिसोबाट जागिन समस्या
भूकम्पमा परी घर भत्किएपछि रुकुम पश्चिम र जाजरकोटको अधिकांश प्रभावित अहिले त्रिपालको सहारामा रात काटिरहेका छन् । उनीहरुलाई खाना र बस्नसँगै चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि उत्तिकै छ । चिसोकै कारण जाजरकोटमा पाँच जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।
आठबीसकोट नगरपालिका–१३ हम्पाका लक्ष्मण शाही आफूसँगै धेरैलाई चिसोबाट मुस्किल परिरहेको बताउनुभयो ।
सोही वडाका हरिबहादुर ओलीले पनि चिन्ता लक्ष्मणको जस्तै छ । “बालबच्चाको चिन्तासँगै पछिल्लो समय अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “सरकारले चिसोबाट जोगाउन सुरक्षित बसोबासको बन्दोबस्त गरिदिए राम्रो हुन्थ्यो ।”







प्रतिक्रिया राख्नुहोस्