भूकम्प पीडितको घरदैलोमै उपचार सेवा
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ ।
प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावल, शिक्षाध्यक्ष डा डबल बहादुर धामी, एनेस्थियोलोजिस्ट डा रविन खातुङ, डा तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाइतेलाई उपचार गरेर फर्केको हो । जाजरकोटको भेरीगङ्गा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेका लगायत सबैखाले समस्या भएका घाइते तथा बिरामीको उपचार गरिएको उपकुलपति डा रावलले जानकारी दिनुभयो ।
प्रतिष्ठानको टोलीले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्री, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालासँग ५० शय्याको अस्पताल गर्नुपर्नेदेखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उहाँले बताउनुभयो । त्यस्तै भविष्यमा आइपर्ने विपद् प्रतिकार्य रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तरक्रिया भएको उहाँको भनाइ छ ।
विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सम्भावित महामारी रोक्न सघन जनस्वास्थ्य अभियान सञ्चालन, प्राथमिक स्वास्थ्योपचारका लागि अनिवार्य ५० शय्याको अस्पताल, पर्याप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उहाँको भनाइ थियो ।
तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ र विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ । जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि शल्यक्रिया कक्ष र सघन उपचार एकाइसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपति रावलले बताउनुभयो ।
तिहार त्यागेर जनस्वास्थ्य टोली भूकम्प पीडितको उपचारमा
नेपालीको दोस्रो महान् पर्व तिहार (दीपावली)को रमझम बढिरहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनस्वास्थ्य टोली भूकम्प पीडितको उपचारमा व्यस्त छ । प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य डीन प्रा डा मुनिराज क्षत्री नेतृत्वको छ जनाको टोली एक सातादेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर पीडितको उपचार गरिरहेको छ ।
उहाँसँगै डा ओमप्रकाश काफ्ले, मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यसहित जाजरकोट र रुकुम पश्चिमका प्रभावित जिल्लाका पीडितलाई जनचेतना, उपचार सेवा र राहत सामग्री नपुगेर सङ्कट व्यहोरिरहेकालाई सहयोग गर्दै आएको छ । यसपालिको तिहार भूकम्पपीडितको उपचार सहयोगमा बिताउने गरी अहिले नलगाड नगरपालिकाका बिरामीको उपचारमा रहेको उहाँले बताउनुभयो ।
बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते शुक्रबार राति ११:४७ बजे गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी दुई सय ५० भन्दा बढी घाइते भएका थिए । एक सय ५७ जनाको उक्त भूकम्पमा परी मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्