तराई मधेशमा छठ पर्वको तयारी शुरु, नगर प्रमुख सिंहद्वारा छठ घाटहरूको स्थलगत अवलोकन

वीरगंज । दीपावलीको मुख्य आकर्षक लक्ष्मी पूजा सम्पन्न भएसँगै बीरगंज लगायत तराई मधेशका जिल्लाहरूमा छठ पर्वको तयारी सुरु भएको छ ।
बारा, पर्सा, रौतहट लगायत भोजपुरी संस्कृतिको केन्द्रको रुपमा रहेको वीरगन्जमा दीपावलीसँगै छठ पर्व उत्साह र उमङ्गका साथ मनाइने गरिन्छ । वीरगन्जमा दीपावली अर्थात् लक्ष्मी पूजा भव्य रुपमा मनाइएको र दीपावली सकिएसँगै छठ पर्वको तयारीमा सर्वसाधारण जुटेका छन् ।
दीपावलीमा तराई मधेशमा लक्ष्मी पूजापछि छठ पर्वको तयारी हुने गर्दछ । अहिले बीरगंजको घण्टाघर र माइस्थान क्षेत्रमा छठ पर्वमा प्रयोग हुने माटाका पूजा सामग्री दियो,पाला, आदि बेच्नेहरूको भिड लागेको छ । लक्ष्मी पूजापछि अहिले बीरगंज महानगरपालिका सहित स्थानीय पालिकाहरू, विभिन्न सामाजिक संघ संस्थाहरूले छठ घाटको सरसफाई र शृङ्गारको काम शुरु गरि सकेका छन् ।

छठ पर्वका लागि वीरगंजको सबैभन्दा ठूलो तथा प्रसिद्ध घाट घडिअर्वा पोखरी परिसरलाई पनि सजाउने काम धमाधम भई रहेको छ । घडिअर्वा पोखरी सँगै वीरगंजको रानीघाट, छपकैया, मुर्ली, नगवा, लक्ष्मणवा, राधेमाई टोलमा रहेका दुई दर्जनभन्दा बढी छठ घाटहरू सजाउने काम तीव्र रुपमा भई रहेको छ ।
तराई मधेशमा दीपावली र छठ पर्वलाई विशेष रुपमा मान्ने चलन रहेको बताउँदै बीरगंज महानगरपालिका वडा नम्बर ४ निवासी सुशील जोशीले वीरगन्ज लक्ष्मीको नगरी र मुलुककै आर्थिक राजधानी मानिने भएकाले पनि यहाँ दीपावली पर्व भव्य रुपमा मनाइने र त्यसपछि छठको तयारीमा स्थानीय जुट्ने गरेको बताउनु भयो ।

तिहार र छठ दुवै पर्वले समग्र तराई मधेशकै अर्थतन्त्रलाई चलायमान समेत बनाएका छन् । यी पर्वमा पूजा सामग्री देखि लिएर नयाँ कपडा, जुत्ता, बास तथा माटाका सामान, फलफूलको विक्री वितरण तीव्र रुपमा हुने गर्दछ ।
यसैबीच छठ पर्वको तयारीका लागि आज वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहितको टोलीले महानगर भित्रका विभिन्न धार्मिक स्थल एवं छठ घाटको स्थलगत अनुगमन र अवलोकन गरेको छ । वीरगंज महानगरपालिकाको विभिन्न वडामा रहेका छठ घाटहरूको स्थलगत अवलोकन गरी सरसफाई र तयारीका सम्बन्धमा थप जानकारी लिएको नगरप्रमुखको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्