तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको सेती नदीमा १ अर्बको पुल शिलान्यास

कास्की । पोखराको सेती नदीमा बन्ने ‘सिग्नेचर’ पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पुलको  निर्माणको कार्य २०८२ भदौ २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ ।

मन्त्री ज्वालाले विकास निर्माणका काममा समयमा सम्पन्न नहुने समस्यालाई चिर्दै समयमै पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको छ  ।

मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत पुल निर्माण सुरु गरिएको हो । सेती नदीमा अहिले रहेको पुलको दायाँ बायाँ दुई दुई लेनका दुई वटा पुल बन्ने सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो  । राजमार्ग ६ लेनमा विस्तार हुँदै छ सोही अनुसार सेती नदीमा पनि छ लेनको पुल बन्ने महानिर्देशक ढकालले बताउनु भयो ।

निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले तोकिएको समय भित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको लम्बाई १९०/१९० मिटर रहने छ । २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा ढिलो गरी काम सुरु भएको हो ।

पुलको लागत भ्याट सहित १ अर्ब ७ करोड रहेको छ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा राजमार्ग स्तरोन्नतिको काम दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । राजमार्ग स्तरोन्नतिकाे काम भने निकै सुस्त गतिमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button