गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरीबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङबिच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताको क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोर्खा जिल्लाको तिब्बती नाकाहरू नियमित रुपमा सञ्चालन गरि प्रदेशवासीको दैनिकी सहज बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपालमा उत्पादन भएको वस्तु तथा सेवा र चीनबाट धेरै वस्तु तथा सेवा नेपाल आयात गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कोरोला नाकामा नेपाल तर्फ आवश्यक पूर्वाधार निर्माणका लागि सघाउन, कोरोला–पोखरा जोड्ने दुई लेनको द्रुत मार्ग निर्माण गर्न र तनहुँमा सय शय्याको अस्पताल निर्माणमा सहयोगको अपेक्षा समेत गरिएको मुख्यमन्त्री पाण्डेले सेक्रेटरी वाङ छुङछेङ समक्ष उल्लेख गर्नु भयो ।

भेटमा सेक्रेटरी वाङ छुङछेङले कोरोला नाका यही कात्तिक २७ गते (नोभेम्बर १३) देखि खोल्ने योजना रहेको बताउनुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सहरबाट सिधा उडान गर्ने विषयमा आफु प्रतिबद्ध रहेको उल्लेख गर्दै सेक्रेटरी वाङ छुङछेङले प्राविधिक टिमलाई यसबारे अध्ययन गर्न पठाउने जनाउनुभयो ।
गण्डकी प्रदेशलाई पहिलो प्राथमिकतामा राखेर तिब्बतले सहयोग गर्ने विश्वास दिलाउँदै सेक्रेटरी वाङ छुङछेङले मुख्यमन्त्री पाण्डेलाई चिन र तिब्बतको भ्रमणको निम्तो समेत दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्