तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विकासका लागि डिजिटल अर्थतन्त्रमा लगानी आजको आवश्यकता : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको आर्थिक विकासका लागि डिजिटल अर्थतन्त्रमा लगानी आजको आवश्यकता भएको बताउनुभएको छ । 

मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/०८१को प्रथम  त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री शर्माले डिजिटल अर्थतन्त्र मुलुकको आर्थिक विकासको मेरुदण्ड बन्न सक्ने भन्दै सूचना प्रविधिका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले  मन्त्रालयले तोकेका लक्ष्य पूरा हुन नसक्नुका कारण समेत खुलाई समस्याको निकास खोज्न निर्देशन दिनुभयो ।  

मन्त्री शर्माले कार्यसम्पादनका सम्बन्धमा  मन्त्रालय , अन्तर सरकारी निकाय र राष्ट्रिय समन्वय आवश्यक पर्ने विषयलाई छुट्टयाएर काम थाल्न पनि निर्देशन दिनुभयो । 

मन्त्री शर्माले लोकतन्त्र सबैभन्दा उत्तम व्यवस्था भएको भन्दै  जनतामा फैलिएको निराशालाई आशामा बदल्न सरकारी सञ्चार माध्यमहरूले सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले सरकारले दूरसञ्चार, सामाजिक सञ्जाल, प्रसारण, सुरक्षण मुद्रण लगायतका क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक पहलकदमी लिएको बताउनुभयो ।

बैठकमा  राष्ट्रिय योजना आयोगका सदस्य डा. अनिता शाह ढुङ्गानाले विकास समस्या समाधान समितिको बैठकमा समस्या मात्र नदेखाई समाधानका उपाय समेत खोज्नुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा मन्त्रालय कटिबद्ध रहेको भन्दै यसको परिमार्जन र विकासका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।

सचिव राउतले मन्त्रालयका लक्ष्य हासिल गर्न अन्तर निकाय समन्वय आवश्यक रहेको भन्दै पुँजीगत खर्चसँग सम्बन्धित कार्यलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

सचिव राउतले सबै नागरिकलाई दूरसञ्चार सेवासँग जोड्न दुर्गम क्षेत्र लक्षित कार्यक्रम अघि बढाइएको पनि बताउनुभयो 

बैठकमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयले तोकेका लक्ष्य एवं मन्त्रालय र मातहतका निकायले गरेका कामकारबाहीबारे प्रकाश पार्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button