रेडियो नेपालबाट धनकुटा नगर विकासको लहर कार्यक्रम प्रसारण हुने

धनकुटा । धनकुटा नगरपालिकाको प्रायोजनमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट धनकुटा नगर विकासको लहर कार्यक्रम पाक्षिक रुपमा प्रसारण हुने भएको छ । प्र
प्रत्येक महिनाको दोस्रो र चौथो सोमबार प्रसारण हुने कार्यक्रमको सम्झौता पत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई र रेडियो नेपाल धनकुटाका सम्पादक अधिकृत सुखकला राईले आज हस्ताक्षर गर्नु भएको हो ।
सम्झौतापत्रमा हस्ताक्षर गर्नुहुँदै पालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले नगरपालिकाको योजना तथा कार्यक्रमहरू जनतामा पुर्याउनुका साथै सेवाग्राहीहरूको समस्या र आवश्यकतालाई पहिचान गर्न कार्यक्रमले सहयोग पुर्याउने बताउनु भयो ।
कार्यक्रमका फोकल पर्सन तथा नगरपालिकाको सूचना इकाईका प्रमुख डम्बर रोगुले पालिकाले गरेका विकास निर्माणका गतिविधि, नागरिकलाई सूचना सन्देश प्रवाह गर्न र सुशासनमा समेत सहयोग हुँदै आएकोले कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भयो । रेडियो नेपाल धनकुटाका सम्पादक अधिकृत सुखकला राईले धनकुटा नगर विकासको लहर कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि सञ्चालन गर्न पाउँदा खुशी लागेको बताउनु हुँदै नगरपालिकाको गतिविधि र सूचना सन्देश सेवाग्राही समक्ष पुर्याउन रेडियो नेपालले सक्दो प्रयास गर्ने बताउनु भयो ।
उहाँले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन पालिकाका सबै वडालाई समेट्दै पालिकाका प्रत्येक शाखाका गतिविधि, स्थानीयवासीका गुनासा र आवश्यकतालाई राख्दै समाधानका लागि सम्बन्धित जनप्रतिनिधि र सरोकार राख्नेहरूको आवाजलाई कार्यक्रममा समेटिने बताउनु भयो ।
धनकुटा नगर विकासको लहर आगामी मङ्सिरदेखि असारसम्ममा १६ वटा कार्यक्रम उत्पादन तथा प्रसारण गर्नको लागि रु. १२६,५६० रकम बराबरको सम्झौता भएको रेडियो नेपाल धनकुटाका व्यापार अधिकृत देवकला कार्कीले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्