भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाइँदै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भूकम्पको जोखिममा छ । यहाँका वडा नम्बर ३ र ७ अझ बढी जोखिममा छन् । पश्चिम नेपालमा ठूलो भूकम्प जान सक्ने प्रक्षेपणपछि नेपालगन्जमा पूर्व तयारी स्वरूप सचेतनासँगै विभिन्न कामहरू भइरहेका छन् । जोखिमयुक्त ठाउँहरूको नक्सांकन गरेर सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । त्यसका लागि वडा नम्बर ३ र ७ लाई छनौट गरी पूर्व तयारीका कामहरू भइरहेका छन् । यसका अलावा अन्य वडाहरूमा पनि सचेतीकरणका कार्यक्रम भइरहेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर० ले आज वडा नम्बर ८ र ११ का सरोकारवालासँग वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिकाका बारेमा छलफल एवं अभिमुखीकरण गरेको छ । वडा अध्यक्ष, वडा सचिव लगायत सहभागी कार्यक्रममा युनिसेफका नरेश निदालले भूकम्पको जोखिम, जोखिम न्यूनीकरणका लागि सुपरले गरिरहेका गतिविधि, सरोकारवालाको चासो र सक्रियता, नागरिक दायित्व लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले हरेक वडाले पहिलो कामको रुपमा जोखिम नक्सांकन गर्नुपर्ने बताउनुभयो । उहाँले जोखिम नक्सांकनपछि मात्र भूकम्पीय पूर्व तयारी र प्रतिकार्यका लागि कार्ययोजना बनाएर अघि बढ्न सक्ने बताउनुभयो ।
आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वडास्तरमा विपद व्यवस्थापनमा गर्न सकिने गतिविधिका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले वडा स्तरमा विपद व्यवस्थापन समिति गठन, विपद पूर्व तयारी र प्रतिकार्य कार्यदल गठन, दक्ष जनशक्ति उत्पादन र परिचालन, खोज उद्धारमा सामान खरिद र भण्डारण, विपद व्यवस्थापन कोष स्थापना, बिमा कार्यक्रम लागू, खुला स्थानको पहिचान लगायतका गतिविधि वडास्तरमा हुनुपर्ने बताउनुभयो । उहाँले सुरक्षित संरचनाले मात्र भूकम्पको जोखिम टर्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपद समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश वाजपेयी (विवेक) ले भूकम्पको जोखिम कम गर्न आवश्यक पूर्व तयारी र सावधानीका लागि तदानुरुपका क्रियाकलाप सञ्चालन गर्ने बताउँदै नागरिक स्तरमा सचेतता अभिवृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्