प्रहरी समायोजन सहितको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने मुख्यमन्त्री यादवको भनाई

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रहरी समायोजन तथा संघीय निजामती ऐन शीघ्र ल्याई कार्यान्वयनको माग गर्नु भएको छ ।
मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरधाममा प्रदेश सरकारको तर्फबाट आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरी समायोजन सहितको माग गर्दै भोली बिहान साढे १० बजे प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन लागेको बताउनु भयो ।
उहाँले ज्ञापनपत्र दिनका लागि आफ्नै नेतृत्वमा विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीहरू काठमाडौँ जान लागेको जानकारी दिँदै ज्ञापनपत्र दिएपछि सोको कार्यान्वयनका लागि ३० दिनको समय दिने र त्यसपछि कार्यान्वयन नभएको खण्डमा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
मुख्यमन्त्री यादवले पोखरामा भएको प्रधानमन्त्री सहितको सातै प्रदेशका मुख्यमन्त्री सहितको प्रदेश परिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ३ महिना भित्रमा प्रहरी समायोजन गर्ने र संघीय निजामती ऐन अध्यादेश मार्फत भएपनि ल्याउने प्रतिबद्धता गर्नु भएपनि हालसम्म कार्यान्वयन नभएको बताउनु भयो ।
उहाँले प्रहरी प्रशासन तथा कर्मचारी आफूहरूसँग नभएका कारणले प्रदेश सरकारले गर्नु पर्ने काम गर्न नसकेको बताउँदै स्वास्थ्य क्षेत्रको अधिकार आफूहरूसँग आएपछि मधेशको स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन आएको दाबी गर्नुभयो ।
उहाँले प्रदेश सरकारसँग थोरै बजेट भएका कारणले राजमार्गको काम गर्न नसकेको दाबी गर्दै जनसङ्ख्याको आधारमा ठूलो प्रदेश भएपनि बजेट निक्कै थोरै भएकाले सानो काम गर्नु बाध्यता भएको बताउनु भयो ।
संविधानले दिएको अधिकारको विषय कार्यान्वयन गर्नमा किन ढिलाई भइरहेको बताउँदै अधिकारका लागि आन्दोलनको गर्नु परेपनि गर्ने पक्षमा प्रदेश सरकार रहेको बताउनु भयो ।
यस पटकको आन्दोलन आरपारको हुने पनि मुख्यमन्त्री यादवले दाबी गर्नु हुँदै आन्दोलनको स्वरूप माग कार्यान्वयन नभएपछि ३० दिनपछि बस्ने सर्वदलीय बैठकले तय गर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा प्रदेश सभामा रहेका विभिन्न दलका नेताहरू तथा प्रदेश सरकारका मन्त्रीहरू उपस्थित रहनु भएको थियो ।
पश्चिम नेपालको जाजरकोट सहितको जिल्लामा आएको विनाशकारी भूकम्प प्रति प्रदेश सरकारले गहिरो दुःख व्यक्त गर्दै ६० लाखको राहत सामाग्री पठाउने निर्णय गरेको मुख्यमन्त्री यादवले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्