चितवनमा प्रहरी हुँ भन्दै ठग्ने पक्राउ

चितवन । चितवनमा प्रहरी भएको भन्दै ठगी गरेर हिँडेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगन्ज काठमाडौँबाट खटिएको प्रहरी टोलिले हिजो (सोमबार) ठगी गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोटका मझुवागढि नगरपालिकाका ललित बानियाँलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
बानियाँले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । उनले गत भदौ २७ गते पसलका सञ्चालक मातृका पराजुलीलाई प्रहरी निरीक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए ।
सो पश्चात् असोज एक गते एसपी शावसँग कुरा गर्नु भनेर कुरा गराएर सो सामान काठमाडौँ लैजाने अनुरोध गरेको प्रहरीको भनाई छ । पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ । उनले बलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटो बाट नै अर्को सवारीमा सामान लोड गरी लगेका थिए । पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयमा उजुरी दिन आएपछि ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्